साउदीलाई पेनाल्टी सुटआउटमा हराउँदै दक्षिण कोरिया एसियन कपको क्वार्टरफाइनलमा
काठमाडौं : कतारमा जारी एएफसी एसियन कप फुटबलमा साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको दोस्रो प्रि–क्वार्टरफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो। सुरुवाती अग्रता साउदी अरेबियाले लिएको थियो। उसका लागि दोस्रो हाफको पहिलो मिनेट अर्थात खेलको ४६औं मिनेटमा अब्लुल्लाह रफीदले गोल गरेका थिए।
त्यसपछि धेरै अवसर सिर्जना गरे पनि दक्षिण कोरियाले गोल गर्न सकिरहेको थिएन। तर, दोस्रो हाफमा थपिएको १० मिनेट थप समयको नवौं मिनेटमा छो गुई सङले गोल गरेपछि खेल एक्स्ट्र टाइममा धकेलियो।
एक्स्ट्रा टाइममा पनि दुवै पक्षबीच गोल नभएपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो। साउदी अरेबियाले प्रहार गरेको पहिलो र दोस्रो बलले जाली चुमे पनि तेस्रो र चौथो बल भने दक्षिण कोरियाली गोलकिपर जो हाइन ऊले रोकेका थिए।
दक्षिण कोरिया भने आफ्नो चारै पेनाल्टीमा चुकेन, जसको फलस्वरुप ऊ क्वार्टर फाइनलमा प्रवेश गर्यो।
त्यसअघि मंगलबार भएको पहिलो प्रि क्वार्टरफाइनल खेलमा उज्वेकिस्तानले थाइल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै क्वार्टर फाइनलमा स्थान पक्का गरेको थियो।
उसका लागि खेलको ३७औं र ६५औं मिनेटमा क्रमशः अजिजवेक तुर्गनवोइभ र अब्बोसवेक फेजुल्लेभले गोल गर्दा थाइल्याण्डका सुपान्चोक साराच्याटले खेलको ५८ मिनेटमा एक गोल गरेका थिए।
एसियन कपको प्रि क्वार्टरफाइनल अन्तर्गत आज बहराइन र जापान तथा इरान र सिरिया भिड्दैछन्। प्रतियोगितामा फ्रेब्रुअरी २ बाट क्वार्टरफाइनलका खेलहरू हुनेछन्।
माघ १७, २०८० बुधबार ०८:१८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।