सहकारीको रकम अपचलनमा जोडिएका रविको दाबी' गृहमन्त्री मलाई फसाउन लागे'
काठमाडौँ : सहकारीका बचतकर्ताहरूको रकम अपचलनमा फरार जीवी राइसँग जोडिएर विवादमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफूलाई फसाउन सकिन्छ कि भनेर लागेको दाबी गरेका छन्।
मंगलबार एक कार्यक्रममा उनले गृहमन्त्री श्रेष्ठप्रति आक्रामक बन्दै भने' जीवी राई समात्न खोजेको हो र!, रवि लामिछानेलाई फसाउन सकिन्छ कि रास्वपा सकाउन सकिन्छ कि भनेर खोजेको हो।'
पोखराको शुर्यदर्शन सहकारी, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीको अधिकांश बचतकर्ताको रकम रवि समेत संलग्न रहेको ग्यालेक्सी टेलिभिजनको नाममा निकालिएको खुलेपछि उनी विवादमा तानिएका हुन्।
उनी ग्यालेक्सीको प्रबन्ध निर्देशकको पदमा रहँदा नै सहकारीका बचतकर्ताहरूको रकम गोर्खा मिडिया प्रालीको नाममा निकालिएको प्रमाणसहित सार्वजनिक भएपछि उनले यसबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका छन्।
आफू शेयर होल्डर्स भएको कम्पनीमा कसले कहाँबाट पैसा ल्यायो त्यसबारे केही जानकारी नभएको दाबी गर्दै आएका लामिछानेले मंगलबार सहकारीमा बचत फसेका बचतकर्ताहरूको बचत कसरी फिर्ता गर्ने त्यसबारे भने जानकारी भएको दाबी गरे।
'पैसा फिर्ता दिन लागेको भए एक महिनामा सकिन्थ्यो। नसकोको हो भने हामी तयार छौँ,' उनले दाबी गरे' एक एक गरेर स्याम्पलिङ गर्न सकिन्छ। सरकार वा गृहमन्त्रीजीले सहकारी पीडितको पक्षमा काम गर्नपर्यो, सम्पत्ति कब्जा गरेर बाँड्नुपर्यो।'
उनले सहकारी ठगेर फरार रहेका जीवी नखोजी आफूलाई फसाउन सकिन्छ कि भनेर कमजोरीहरू खोजी रहेको दाबी समेत गरे।
'रवि लामिछानेलाई दोषी देखाउनु परेको छ, डाम्नु परेको छ। सक्दै सक्दैनौँ। हामीले सकेनौँ, रास्वपाको सहयोग चाहियो भनेर आउनुस् रास्वपा मद्दत गर्न तयार छ।'
प्रहरीले हालै जीवीसहित तीन जना नेपाल बाहिर गएको आशङ्कामा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको छ। तर रविले सरकारले जीवीलाई खोज्दै नखोजेको दाबी गरे। जीवीसहित संलग्न सहकारीबारे पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको थियो।
सहकारी विभागको पत्रको आधारमा सिआइबीले अनुसन्धान सुरु गरे लगत्तै रविले सरकारले आफूलाई फसाउन लागेको दाबी गर्न थालेका थिए।
'उपप्रधानमन्त्री भएको टोपबहादुर रायमाझी समातेको हैन' भन्दै उनले भने' जति समय गृहमन्त्रीले यो मान्छे(रवि) को केही भेटिन्छ कि भनेर खोज्नुभयो, लाग्नुभयो त्यसरी नै राहत दिन लागेको भए कम्तीमा पनि दुई चार सय मान्छेले/ दुई-चार हजारले राहत पाउँथे।'
उनले सहकारी ठगीमा आफ्नो नाम जोडेकोमा आक्रोशितहुँदै खोयाबाट सुरु गरेको राजनीतिक खोयामै गएर सकिने भन्दै भने' केही पनि पाउँदैनन्। जिरो पाउँछन् जिरो।'
माघ १६, २०८० मंगलबार २१:१६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।