राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणाम अप्रत्याशित भएको गठबन्धनको निष्कर्ष

राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणाम अप्रत्याशित भएको गठबन्धनको निष्कर्ष

काठमाडौँ : राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशको परिणाम गठबन्धनका लागि गम्भीर र चिन्ताजनक रहेको सत्ता गठबन्धन दलको बैठकले निष्कर्ष निकालेको छ।

कोशी प्रदेशको निर्वाचनमा गठबन्धनकातर्फबाट प्रदेश सांसद र स्थानीय तहको प्रमुख/उपप्रमुख भएकाहरूको मतभार भन्दा कम मतभार मात्रै आएन गठबन्धनको महिलातर्फको उम्मेदवार पराजित भएको थियो।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले कोशीको परिणाम सत्ता गठबन्धनको अपेक्षा विपरीत र अप्रत्याशित भएको ठहर गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षको मतभारका हिसाबमा जीत सुनिश्चितको हिसाब निकाले पनि अपेक्षाअनुसारको परिणाम नआउनु गम्भीर र चिन्ताजनक भएको जानकारीदिँदै लेखकले त्यसबारे गम्भीर छलफल भएको बताए।

‘कोशी प्रदेश सत्ता पक्षको गठबन्धनमा हामीले एउटा सिट गुमाएका छौँ। त्यो विषयलाई लिएर छलफल भयो। राष्ट्रियसभाको निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रूपले गम्भीर रूपमा छलफल गरेको छ। कोशीमा जुन परिणाम आएको छ यो गम्भीर छ, चिन्ताजनक छ यसको बारेमा प्रारम्भिक छलफल भएको र अझै छलफल गर्ने निर्णय भएको छ।’

उनले यो गठबन्धनको सरोकारको विषय भएको तर यसले गठबन्धनमा कुनै प्रतिकूल प्रभाव नपार्ने दाबी गरेका थिए।

‘यो सरोकार प्रधानमन्त्री वा सभापतिको मात्रै नभएर समग्रतामा गठबन्धनकै सरोकार हो। सबैको साझा उम्मेदवार भएको हुनाले यसमा कसका के भन्दा पनि समग्रतामा विश्लेषण गरेका छौँ,' उनले भने' गठबन्धन एकमुष्ट छ, एकीकृत छ, गठबन्धनमा यसले कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था छैन।'

माघ १६, २०८० मंगलबार २०:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।