नक्कली भ्याट बिल ठगीमा भाटभटेनी दोषी, डेढ अर्ब बढी तिर्नुपर्ने
काठमाडौँ : भाटभटेनी डिपार्टमेन्ट स्टोरले नक्कली भ्याट बिल बनाएर कर छलेको अदालतबाट पुष्टि भएको छ। नक्कली भ्याट बिल बनाएर छली गरेको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको हो।
सर्वोच्च अदालतले यस अगाडि नै कर छली गरेको भन्दै निर्धारण भएको करलाई सदर गरेको थियो। भाटभटेनी पुनरावेदनमा गएपछि यो मुद्दा बृहत् इजलासमा गएको थियो।
न्यायाधीशहरू डा. कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गर्यो।
नक्कली बिलबिजक बनाएर कर छलेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि राजस्व न्यायाधिकरणले गरेको कर निर्धारण, जरिवाना र ब्याज गणनालाई २०७६ पुस २८ मा सर्वोच्च अदालतले सदर गरेको थियो।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाशकुमार ढुंगानाको इजलासले सदर गरेको फैसला पुनरावलोकन गर्न तीन सदस्यीय इजलासले निस्सा दिएको थियो।
२०७८ असार १० मा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले भाटभटेनीको फैसला पुनरावलोकन गर्न आदेश दिएको थियो।
पुनरावलोकनमा समेत फैसला सदर भएकाले अब तोकिएको जरिवाना ब्याजसहित सरकारी कोषमा दाखिला गर्नुपर्नेछ।
माघ १६, २०८० मंगलबार २०:१४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।