प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी

प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले लुम्बिनी प्रदेशमाथि जित निकालेको छ। आज लिग चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै कोशीले लुम्बिनीमाथि १६ रनको जित निकालेको हो।

जारी प्रतियोगितामा कोशीको यो एकमात्र जित हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कोशीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४६.५ ओभरमा सबै विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो।

लुम्बिनीका दिल्सान अलीले ३२ रन बनाए। विराट भण्डारीले २८, सम्राट भुसालले २६, कृष्ण कार्कीले २२ र निर्मल गुरुङले ११ रन जोडे। कोशीका सौजन घिमिरेले तीन विकेट लिए। १० ओभर बलिङ गरेका सुजनले एक मेडन फ्याक्दै ३१ रन खर्चिए।

अभ्यास तिम्सिना, कमल खत्री र समिर कार्कीले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोशीले ४४.४ ओभरमा सबै विकेट गुमाएर १७२ रनको योगफल खडा गर्यो। कोशीका कप्तान अंकित सुवेदीले ४९ रन बनाए।

अर्धशतकबाट एक रनले चुकेका सुजनले ६५ बलमा नौ चौका प्रहार गरे। सौजन घिमिरेले ४३ रन थपे। मिनास थापाले २५, सोनु अन्सारीले १७ र आइस भट्टराईले १० रन जोडे।

लुम्बिनीका नर सार्कीले चार विकेट लिए। वीर मगरले तीन विकेट लिँदा अभिषेक गौतमले दुई र कृष्ण कार्कीले एक विकेट लिएका थिए।

जितसहित प्रतियोगिताको अन्त्य गरेको कोशी नौ खेलबाट दुई अंकसहित तालिकाको पुछारमा छ। आठ खेलबाट दुई अंक जोडेको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ।

माघ १६, २०८० मंगलबार १८:५३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।