कर्णालीमा बढ्दै हाडनाता बलात्कार, आफ्नै बाबुबाट समेत सुरक्षित भएनन् छोरीहरू
सुर्खेत : गत २९ असारमा वीरेन्द्रनगरकी एक १४ वर्षीय बालिका बुबासँगै घरमा बसेकी थिइन्। उनी स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दैछिन्। आमाको मृत्युपछि बुबाले अर्को विवाह गरे।
त्यो दिन कान्छी (सौतेनी) आमा माइत गएकी थिइन्। घरमा कोही थिएनन्। बिरामी भएको भन्दै बुबाले शरीरमा तेल लगाउन अर्हाए। बुबालाई गाह्रो भएको होला भनेर उनले पनि तेल लगाइदिइन्। तर, बुवाले नै धारिलो हतियार देखाउँदै कोठा बन्द गरेर उनको बलात्कार गरे।
बुबाबाट बलात्कृत भएपछि बेसहारा भएकी उनलाई छिमेकीको सहयोगमा प्रहरीकहाँ लगियो। असार ३० गते बुवा विरुद्ध जाहेरी परेपछि प्रहरीले तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढायो। अहिले अहिले उनका बुवा पुर्पक्षका लागि कारागारमा छन्।
‘बुबाले बिरामी भएँ, तेल लगाइदेउ भनेपछि मैले निको होला भनेर लगाइदिएँ। तर, उहाँले मलाई चक्कु देखाउँदै रातभर कोठामा थुनेर बलात्कार गर्नुभयो,’ ती बालिकाले भनिन्, ‘अब दुई जना भएर बसौँ। तिम्रो शरीरका अंग कति राम्रो भन्दै मलाई यातना दिइरहनुभयो।’
यो घटनापछि आत्महत्या गर्ने प्रयास गरे पनि छिमेकी काकीले सम्झाइन्। उनको मनबाट आत्महत्याको भावना त हरायो तर मानसिक रुपमा उनी अझैँ सामान्य अवस्थामा फर्किन सकेकी छैनन्।
गत असोज २७ मा पश्चिम सुर्खेतकी अर्की १५ वर्षीय बालिका पनि आफ्नै बुबाबाट घरभित्रै बलात्कृत भइन्। बाबुबाट बहिनी बलात्कृत भएको थाहा पाएपछि दाइले १५ कात्तिकमा प्रहरीमा उजुरी दिँदा दाइकै ज्यान गयो।
दिने १८ वर्षीय छोराको माघ १ गते राति उनै बुवाले निमर्मतापूर्वक हत्या गरे। हत्या गरेर भारततिर फरार हुन लागेका उनलाई प्रहरीले माघ ३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
बालिकाकी आमाले अर्को विवाह गरेपछि बुबाले पनि दोस्रो विवाह गरेका थिए। ती बालिका मामाघरमा बसेर कक्षा ९ पढ्दै थिइन्। २७ असोजमा भारतबाट फर्किएका बुबाले उनलाई भेट्न बोलाएर बलात्कार गरे।
आफू बलात्कृत भएको घटना सुनाउँदा कान्छी आमाले घटना लुकाउन भनिन्। यही घटनाका कारण आफ्नो दाइ गुमाउनु परेकोमा उनी थप दुखी छिन्।
‘आमाले अछामतिर अर्को विवाह गरेपछि मामाघर बसेर ९ कक्षा पढ्दै थिएँ। बुबासँग त सानैमा टाढिएकी थिएँ। अनुहार समेत मलाई याद थिएन। भारतबाट आएर भेट्न बोलाएपछि खुसीले भेट्न आएँ,’ एक गैरसरकारी संस्थाको संरक्षणमा रहेकी ती बालिकाले भनिन्, ‘उहाँले मलाई कोही नभएको बेला आएर बलात्कार गर्नुभयो। त्यही कुराको विरोध गर्दा दाइको समेत ज्यान गयो। अहिले त केटा मान्छे देख्दा पनि मलाई सार्है डर लाग्छ। कसैको विश्वास नै लाग्दैन।’
यस्ता घटना किन घटिरहेका छन्?
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाही यस्ता घटना हुनुमा मुख्य कारण पारिवारिक बेमेल र सामाजिक विचलन रहेको बताउँछन्।
‘प्रहरीमा आएका घटनालाई मात्रै हेर्दा करिब ९५ प्रतिशत घटना पारिवारिक विचलनले भएको देखिन्छ। त्यो सँगै सूचना प्रविधिको दुरुपयोग र लागूऔषध पनि मानिन्छ,’ प्रवक्ता शाहीले भने, ‘पारिवारिक सामिप्यता, स्नेह र कर्तव्यबोध नहुँदा यस्ता घटना घट्छन्।’
उनका अनुसार आमाले अर्को विवाह गरेर गएको, छोराछोरीबीच बुबाआमाको घुलमिल नभई एक्कासी भेट भएका जस्ता क्रियाकलापबाट घटनाहरू भएको देखिन्छ। हिंसाको ज्ञान नहुनु, आफन्तबाटै ढाकछोप गर्नु लगायतका कारण प्रहरीमा यस्ता घटना ढिलो आउने गरेको उनको भनाई छ।
हाडनाता करणीका मुद्दाको मुख्य कारण भनेको पारिवारिक अवस्था नै रहेको प्रदेश अस्पताल सुर्खेतको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) की मनोपरामर्शकर्ता गिता केसी बताउँछिन्।
‘बुबाआमाको झगडा हुन्छ। आमा माइत जान्छिन्। अनि घरमा छोरी बलात्कृत हुन्छिन्। कोही बालिका वा महिलाको मानसिक अवस्था कमजोर हुन्छ। त्यसको फाइदा घरकै सदस्यले उठाउँछन्,’ मनोपरामर्शकर्ता केसीले भनिन्, ‘बाजे, बुबा, काका, दाइ, देवरबाट प्रायजसो बलात्कृत भएको पाइन्छ।’
पछिल्लो समयमा आफन्तबाटै बालिका र महिलाहरू बलात्कार हुने घटना बढेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए। कर्णालीका १० जिल्लामा सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म ८ बालिका बुबाबाटै बलात्कृत भएको देखिन्छ भने २ जना काकाबाट बलात्कृत भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्कले देखाउँछ।
‘पीडितहरू परिवार र समुदायको डर र धम्कीका कारण यस्ता घटना बाहिर ल्याउँदैनन्,’ उनले भने, ‘यस्ता विषयमा कानुनी सचेतना जगाउन जरुरी छ। पीडकलाई कानुन बमोजिम कारबाही गरेर यस्ता घटना बाहिर ल्याउनुपर्ने हरेक नागरिकको कर्तव्य हो।’
कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार कर्णालीमा पछिल्ला पाँच आर्थिक वर्षमा हाडनाता करणीका ६८ घटना प्रहरीसम्म पुगेका छन्। त्यसमध्ये आफ्नै बुवाबाट २३ जना, दाजुभाइबाट १३ जना बालिका र किशोरी बलात्कृत भएका छन्। योसहित हाडनाता करणीका ६८ वटा उजुरी प्रहरीसम्म छन्।
माघ १६, २०८० मंगलबार १८:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।