‘धन्न नेपाली सिनेमा मेकरहरुको जोडमा बाँचिरहेको छ, विकास बोर्डको त कामै छैन’
काठमाडौँ : फिल्ममेकर तथा निर्देशक मिलन चाम्स सकारात्मक होस् या नकारात्मकरुपमा चर्चामा छाइरहन्छन्। ‘वीरबिक्रम’,‘लिलीबिली’ लगायत थुप्रै फिल्म निर्देशन गरेका उनी फिल्म ‘एन्जिला’को छायाङ्कन सकाएर अहिले ‘गोर्खा वारियर’को प्रमोसनमा व्यस्त छन्। सन् १९४९ मा गोर्खालीले मलाया युद्धमा देखाएको बहादुरीको कथालाई पर्दामा उतारेका छन्। उनी यही फिल्मबाट नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार खोज्ने रणनीतिमा समेत देखिए। त्यही फिल्मको सेरोफेरो र अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको उपस्थितिमा केन्द्रीय रहेर उकेराकर्मी भोला अधिकारीले उनीसँग गरेको संवाद :
लभ स्टोरीको फिल्म बनाउने निर्देशक एकै पटक लाहुरेको वीरतातिर लाग्नुभयो। कारण?
गोर्खाली हाम्रो अन्तर्राष्ट्रिय ब्रान्ड हो। त्यो ब्रान्ड आजको पनि होइन, २०८ वर्ष अघिको हो। नेपालका जवानहरू अन्य देशको सेनामा भर्ती हुन जानेक्रममा वीरताका इतिहासहरू पनि रचियो। तर हाम्रो बहादुरी, इमानदारिताको कथामा नेपालमै गतिलो फिल्म बन्न सकेन।
केही बलिउड मेकरहरुले फिल्म बनाए। तर त्यसमा हाम्रो कथा हरायो। उनीहरूको कथा हाबी भयो। मलायाको कथा त एउटा सानो उदाहरण मात्र हो। गोर्खालीहरूको हजारौँ कथाहरू छन्। पहिलो, दोस्रो विश्वयुद्धदेखि अहिलेसम्मका वीरताका कथाहरू छन्। अर्को, आफ्नोपन, मौलिक कथावस्तुमा फिल्म बनाउनुपर्छ भन्ने दर्शकको सङ्ख्या बढ्दै गएको छ। वार जनराको फिल्म नेपालमा कमै बन्छन्। यो त हाम्रो आफ्नै कथा हो, हामीले नबनाए कसले बनाउने त भन्ने भएर यता लागेँ।
यस्तो जनराको फिल्मको सुटिङमा पुराना प्रप, लोकेसन लगायतमा टन्नै खर्च हुन्छ भन्ने सुनिन्छ। के छ तपाईँको अनुभव?
यो सिनेमा सानो होमवर्कले बन्न सम्भव थिएन। समय पनि टन्नै लाग्छ।र अब सुटिङदेखि प्रिमियरसम्मको समय हेर्ने हो भने झन्डै साढे तीन वर्ष नै हुन लाग्यो। त्यो भन्दा अघिको तयारीले पनि समय खायो। ऐतिहासिक चलचित्रको कथामा जब सिनेमा बनाइन्छ यसलाई त्यो किसिमको प्रप,त्यो किसिमको वातावरण त बनाउँदै पर्छ। त्यो जुटाउनु चुनौती नै थियो। ऐतिहासिक फिल्म भन्ने बित्तिकै त्यसलाई राम्ररी अध्ययन गर्न सक्नुपर्यो, बुझ्नुपर्यो, गहिराइमा जानुपर्यो, धेरै कुराहरू थिए। भयङ्कर च्यालेन्जिङ थियो। अहिलेसम्मकै मेरो अनुभवमा सबैभन्दा धेरै समय लागेको सिनेमा हो यो। मिहेनत अनुसारको फिल्म बनेको छ। त्यसले पनि सन्तुष्टि दिएको छ।
फिल्मको ट्रेलर हेर्दा धेरै चुनौतीपूर्ण द्वन्द्वहरू खिचिएको देखियो। यस्तोमा दृश्य खिच्दा दुर्घटनाको जोखिम पनि हुन्छ नै। यसमा त्यस्तो केही भयो कि भएन?
थियो। एकचोटी नायक रितेश चाम्स त स्टन्ट दिने क्रममा अलिकतिले बाँच्नुभएको हो। उहाँको भाग्य बलियो,भगवान् दाहिना भएर मात्रै उहाँ बाँच्नुभएको हो। त्यो इन्सिडेन्टमा अलिकति, आधा इन्ज मात्रै फरक परेको भए उहाँ खत्तम नै हुने अवस्था थियो।
अब बम बारुदको कुरामा भयङ्कर सचेत हुनुपर्छ नै। हाम्रो जस्तो मुलुकमा अलिकति हेल्थ सेप्टीमा कमजोरै छौँ। अभ्यास पनि त्यति छैन। त्यसले पनि चुनौती बढाउँछ नै। रितेश भिरबाट झर्नुपर्ने सिन थियो। प्राय उहाँ आफै स्टन्ट गर्न रुचाउने मान्छे। उहाँ आफैले स्टन्ट गर्ने हुँदा झन्डै भिरबाट उहाँ झर्नु भएको थियो। तर त्यो बाहेक अन्य दुर्घटना भएन।
त्यो दुर्घटना भएको भए सायद यो फिल्म बन्दैन थियो होला हैन?
बन्दैनथ्यो। सिनेमा रोकिन्थ्यो। किनभने त्यो समयमा हाम्रो सिनेमाको सुटिङ ५० प्रतिशत सकिइसकेको थियो। त्यसमा पनि ज्यानै तलमाथि भएको भए कहाँ फिल्म सक्काउनतिर लागिन्थ्यो र।
केही निर्देशक नयाँ कलाकारलाई लिएर फिल्म चलाउन गाह्रो भयो भन्छन्। गोर्खा वारियरमा मुख्य अभिनेतादेखि अधिकांश नयाँ कलाकार छन्। दर्शकसँग परिचित भएका कलाकार छाडेर किन नयाँमा केन्द्रित भएको हो?
मैले अधिकांश नयाँ कलाकारहरूसँग काम गरेको छु। जस्तै दिया पुन। मैले डेब्यु गराएको हो उहाँलाई। अहिले रेगुलर सिनेमा गरिरहनुभएको छ। ‘लिलीबिली’बाट मैले जसिता गुरुङलाई फिल्म क्षेत्रमा ल्याएँ। जसिताले पनि अहिले फिल्महरूमा काम गरिनै राख्नुभएको छ। अनुपविक्रम लगायतका धेरै कलाकारलाई डेब्यु गराएको छु।
कुनै कलाकार डेब्यु नभईकन ऊ स्टार त बन्दैनन् नि। अब रितेशको हकमा चाहिँ अन्य किसिमको सिनेमा भएको भए व्यापारिक हिसाबबाट सोच्न पनि सकिन्थ्यो होला। गोर्खालीको सिनेमा बन्दैछ, यसमा फ्रेस अनुहार पनि चाहिन्छ। पात्र अनुसारको अभिनय गर्न सक्ने कलाकार पनि चाहियो। त्यतिकै छानेको पनि हैन, सबै कलाकार अडिसनबाट छानेको हो।
तपाईँले स्टार भनिएका कलाकारलाई स्थान नदिएको आरोप पनि लाग्छ नि हैन?
स्थान नदिएको हैन। प्रदीप खड्का, पल शाह, दयाहाङ राईसँग पनि काम गरिसकेको छु। अस्ति भर्खर पनि एन्जिला भन्ने फिल्ममा काम गरेको हो। स्टारसँग काम नगरेको भन्ने हैन।
फिल्मको ट्रेलर सार्वजनिक गरेको दिन नेपालका स्टारहरू अल्छे छन् भन्नुभयो। अल्छे भएर नै नयाँ कलाकार लिनुभएको हो की?
स्टार भन्दाखेरि कस्तो भने, हामी कलाकार, मेकरहरु सबैमा अनुशासन हुन जरुरी छ। यसमा कसैलाई गाली गर्ने उद्देश्य पनि होइन। हामी परिवारभित्रका कमिकमजोरीहरुलाई सुधार्न सक्नुपर्छ। फिल्म लाइन भनेको हाम्रो परिवार हो। यो कलाकारसँग काम गर्दिन भन्ने नै हुँदैन। कहीँ न कहीँ ठोकिन्छ नै।
अब कतिपय समाचारमा आक्रोश भनेर लेखेको देखेँ। त्यो आक्रोश होइन। एउटा मेकरको हिसाबले,एउटा अभिभावकको हिसाबले आफूभन्दा जुनियर कलाकारलाई सम्झाउन सक्नुपर्छ। यहाँ गल्ती हुँदैछ है,हामी यहाँ सुध्रिनुपर्छ है भनेर त भन्नुपर्छ। मैले नराम्रोरुपमा भनेको हैन। कतिपयले गलत तरिकाले बुझिदिन्छन्।
बेलायतमा गोर्खा वारियरको प्रिमियर गर्नुभयो। बेलायती प्रधानमन्त्रीले समेत शुभकामना पत्र पठाउनु भएको थियो। नेपालकातर्फबाट त्यस्तो केही सुनिएन नि?
हामीले प्राय चलचित्र क्षेत्रका व्यक्तिहरूलाई कहाँ के भइराखेको छ भन्ने थाहा हुन्छ। हामीले पत्रै पठाए पनि त्यसलाई नेक्लिज्नेस गर्ने चलन छ। पत्र पठाए पनि पत्र पाएको, नपाएको, आउने या नआउने केही भन्दैनन्।
अर्को कुरा चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लानुपर्छ भन्ने धेरै सुनिन्छ। विभिन्न कार्यक्रम पनि भइरहेको देख्छु। तर कसरी लैजाने भन्ने चाहिँ कसैलाई पनि थाहा छ जस्तो लाग्दैन। मेकरहरुले आ-आफ्नै तरिकाले ट्राई गरिरहेका छन्। तर चलचित्रसँग सम्बन्धित निकाय जो छ, जसले अभिभावकको रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने हो उहाँहरू नै अनविज्ञ जस्तो लाग्छ।
खाली भेला,गोष्ठी गरेर हुनेवाला केही छैन। विश्वमा त्यत्रो ठुलो सिनेमाहरू बनिरहेका छन्। हामी एउटा सानो मुलुक, २-३ करोड जनसङ्ख्या भएको ठाउँमा करोडमा सिनेमा बनाएर अर्बौँ लगानी बनेको सिनेमासँग प्रतिस्पर्धा गरिरहनुपरेको छ। त्यो मुखले मात्र भनेर हुन्न।
अन्तर्राष्ट्रिय फेस्टिवलहरुमा त नेपाली फिल्म गइराखेको छ नि हैन?
व्यक्तिगत प्रयासमा केहीले प्रयास गरिराखेका छन्। फेस्टिवलहरुमा गइराखेको छ। इतिहासमा पहिलो पटक बाष्टा जस्तो अवार्डमा गोर्खा वारियरले प्रवेश पायो। बलिउडतिर हो भने ब्रेकिङन्युज बन्थ्यो। यहाँ त कसैलाई थाहा पनि छैन। सरकारी निकायले चासो राखेर के सपोर्ट गर्नुपर्ने हो त्यो बुझ्न सकिन्छ। तर त्यो छैन। धन्न नेपाली सिनेमा हामी मेकरहरुको जोडमा बाँचिरहेको छ।
साधारण हिसाबले सोचौँ न, एउटा सिनेमा बनाउँदा २-४ करोड खर्च गर्दा कति जनाले रोजगार पाउँछन्। सरकारले यो तरिकाले पनि सोचिदिनु पर्यो। वास्तवमा भन्ने हो भने चलचित्र विकास बोर्डको काम खाली गोष्ठी,सेन्सर गर्ने, इजाजत दिने मात्रै हो त? होइन नि। त्यो त कामै छैन। बाहिरबाट दक्ष प्रशिक्षक बोलाउनु पर्यो, हाम्रो मेकर अनि टेक्निसियनहरुलाई सिकाउनु पर्यो। बजार खोजिदिनु पर्यो। ल तिमीहरू यहाँ जा है भनेर भन्नुपर्यो। अब यहाँ त जहाँ पनि राजनीति घुसेको देखिन्छ। यहाँ कसैलाई कसैको मतलबै छैन।
यो कुरा गरिरहँदा कति बाठो भएको हो यो,कति छुच्चो भएको भन्ने देखिन्छ। तर हामीले हाम्रो चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि बोल्न सक्नुपर्छ। आइडियाहरू सेयर गर्नुपर्छ।
माघ १६, २०८० मंगलबार १६:०७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।