लोप हुँदैछन् पानीघट्ट र ओखल

लोप हुँदैछन् पानीघट्ट र ओखल

काठमाडौं : पूर्वी पहाडी र हिमाली जिल्लामा प्रचलित पानीघट्टहरू पछिल्लो समययता देखिन छोडेका छन्। गाउँ गाउँमा बिजुली पुगेसँगै आधुनिक मिलहरू सञ्चालनमा आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने खोलाका पानीघट्ट, ओखल, जाँतो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन्।

हिमाली जिल्ला मुगुमा पनि परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानीघट्ट लोप हुन थालेपछि आधुनिक मिलमा पिसेको पिठो स्वादिलो नहुने, रोटी चाम्रो हुने गरेको स्थानीय बताउँछन्।

मिलमा पिसेको पिठोभन्दा घट्टमा तयार गरिएको पिठोको रोटी स्वादिलो हुने छाँयानाथ रारा नगरपालिका–८ का कृष्णबहादुर रावलले बताए। रावलले मौलिक पानीघट्टमा पिँधेको पिठोबाट तयार परिकार बासनादार र स्वादिलो हुने तर विद्युतीय मिलबाट पिसेको धुलो कुनै पनि स्वाद नहुने बताए।

आजभोलि सस्तो र सहज रुपमा बजारमा पिसेको पिठोको चामल पाउन गरेको, पानीघट्टहरू बिग्रिएको, पानीघट्टका संचालकहरूले व्यवसाय परिवर्तन गर्न थालेपछि पानीघट्ट लोप हुने अवस्थामा पुगेको छाँयानथा रारा नगरपालिका–६ का ख्यामबहादुर रावलले बताए।

मिलमा पिसेको र तराईबाट आयतीत पिठोले बजार ओगटेका कारण पनि गहुँ, कोदो र फापर पानीघट्ट पिस्न छाडेको स्थानीको भनाई छ।

त्यस्तै, बाढीका कारण पानीघट्टहरू बगाएकाले पनि समस्या भएको नगरप्रमुख कर्णबहादुर रावलले बताए।

उनले नगरपालिकाले घट्ट, ढिकी, जाँतो, ओखल संरक्षणका लागि योजना अघि सारेको रावलले बताए। ‘एक गाउँ, एक पानीघट्ट’ अभियान सुरू गरिएको बताए।

माघ १६, २०८० मंगलबार १३:२८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।