जिल्ला जिल्लामा कांग्रेस नेताहरू

जिल्ला जिल्लामा कांग्रेस नेताहरू

काठमाडौं : नेपाली कांग्रेसको ७७ वटै जिल्लामा जारी ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि औपचारिक सुरू भएको छ।

शहीद दिवसको अवसर पारेर सुरू गरिएको अभियानका लागि पार्टीले तोकेका प्रतिनिधिहरू तोकिएका जिल्लाहरूमा पुगिसकेका छन्। जिल्ला स्तरमा केन्द्रीय सदस्यहरू र प्रदेश स्तरमा पदाधिकारीहरू खटिएका छन्।

यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम यात्रा थालिएको हो। यात्राका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटिइसकेको अवस्थामा अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न पार्टीले अर्को टोली बनाएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहने छन्। तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने जनाइएको छ।

टोली शहीद दिवस (आज) देखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने समेत उल्लेख छ।

महामन्त्री गगन थापाले अलग्गै ‘संवाद यात्रा’ गरिरहेका छन्।

थापाले शनिबार झापादेखि सुरू गरेको यात्रा सोमबार राति सिराहा औरहीका कृषक तथा स्थानीयहरूसँग संवाद गरेका थिए। उनले माघ १३ गते मेचीबाट थालेको अभियान २६ गते महाकाली पुगेर टुंगिने छ।

माघ १६, २०८० मंगलबार १२:५५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।