प्रधानमन्त्री कप : सुदूरपश्चिममाथि एपीएफको कठिन जित
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार एपीएफ क्लबले सुदूरपश्चिममाथि तीन विकेटको कठिन जित निकालेको छ।
८८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १४.१ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो।
उसका लागि सन्दीप जोराले अविजित सर्वाधिक १८ रन बनाउँदा आशिफ शेख १५, भुवन कार्की १४ र प्रदीप ऐरीले १२ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए।
मुलपानी क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबविरुद्ध टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनायो।
उसका लागि नारायण जोशीले सर्वाधिक ३१ रनको अविजित पारी खेल्दा किरण ढगुन्ना २४ रनमा आउट भए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सात ओभर बलिङ गरेका एपीएफका १५ वर्षीय चन्दन राम एक्लैले ५१ रन खर्चिएर पाँच विकेट लिए।
यो चन्दन रामको राष्ट्रिय प्रतियोगिताको डेब्यु खेल हो। उनी एपीएफको टिममा भए पनि आजसम्म मौका पाएका थिएनन्।
रोहित पौडेलले तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट लिए।
जितसँगै एपीएफ आठ खेलबाट १० अंक जोड्दै पाँचौं स्थानमा यथावत् रहँदा सुदूरपश्चिम पनि छैटौं स्थानमा कायमै छ।
माघ १६, २०८० मंगलबार १२:२०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।