एलोन मस्कको कम्पनीद्वारा पहिलो पटक मानव मस्तिस्कमा ‘वायरलेस ब्रेन चिप’ प्रत्यारोपण

एलोन मस्कको कम्पनीद्वारा पहिलो पटक मानव मस्तिस्कमा ‘वायरलेस ब्रेन चिप’ प्रत्यारोपण

एजेन्सी : टेक अर्बपति एलोन मस्कको कम्पनी न्यूरालिंकले पहिलो पटक मानिसमा ‘वायरलेस ब्रेन चिप’ सफलतापूर्वक प्रत्यारोपण गरेको छ।

प्रारम्भिक नतिजाअनुसार चिपले राम्रो न्युरोन स्पाइक्स पत्ता लगाइरहेको छ भने प्रत्यारोपण गरिएको व्यक्ति पनि निको भइरहेको मस्कले बताएका छन्।

कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको भन्दै मस्कले यसले जटिल न्यूरोलोजिकल रोगसँग लड्नसमेत यसले मद्दत गर्नेसमेत दाबी गरे।

मस्कको कम्पनीलाई एफडीएले गत वर्ष मे महिनामा मानिसमा चिप परीक्षण गर्न अनुमति दिएको थियो।

यसअघि कपालभन्दा पातलो यो ‘चिप’ रोबोटमा प्रयोग भएको थियो। कम्पनीले ६ वर्षदेखि यो चिपमा काम गरिरहेको छ। यो चिपलाई मस्तिष्कको ‘मुभमेन्ट इन्टेन्सन’ नियन्त्रण गर्ने भागमा जडान गरिएको छ।

‘न्यूरालिंक’ ब्रेन चिप उत्पादन गर्ने एक मात्र कम्पनी होइन। यसको प्रतिस्पर्धी कम्पनीहरूले यसअघि नै मानव मस्तिष्कमा आफ्नो उपकरणहरू प्रत्यारोपण गरिसकेका छन्।

माघ १६, २०८० मंगलबार १०:५७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।