इन्जुरी समयमा सम्हालिन नसक्दा एसियन कपबाट बाहिरियो इराक, जोर्डन र कतार क्वार्टरफाइनलमा
काठमाडौं : इन्जुरी समयमा दुई गोल गरेर इराकलाई हराउँदै जोर्डन एएफसी एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार साँझ कतारको अल रेयानस्थित खालिफा रंगशालामा भएको तेस्रो प्रि–क्वाटरफाइनलमा इराकलाई ३-२ ले पाखा लगाउँदै जोर्डन क्वार्टरफाइनलमा पुग्ने तेस्रो टोली बनेको हो।
अल नाइमातले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट जोर्डनले अग्रता लिएको थियो।
दोस्रो हाफको इन्जुरी समयमा लगातार २ गोल गर्दै इराकले जोर्डनको अग्रता उल्टाइदियो। इराकका लागि ६८औं मिनेटमा नातिक र ७६औं मिनेटमा हुसेनले गोल गरे।
निर्धारित ९० मिनेट सकिए पनि इन्जुरी समयमा सम्हालिन नसक्दा लगातार १ मिनेटको अन्तरमा दुई गोल खाँदै अन्नत इराक प्रतियोगिताबाट बाहिरियो।
जोर्डनका लागि दोस्रो हाफको इन्जुरी समयको ५ औँ मिनेटमा अल अराब र ७ औँ मिनेटमा अल रासदानले गोल गरेका हुन्।
अब सेमिफाइनल प्रवेशका लागि जोर्डनले ताजिकिस्तानसँग फेब्रुअरी २ मा खेल्नेछ। ताजिकिस्तान, यूएईलाई हराउँदै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो।
उता राति भएको अर्को खेलमा कतारले प्यालेस्टाइनलाई २-१ ले हराउँदै क्वार्टरफानलमा स्थान सुरक्षित गरेको छ। प्यालेस्टाइनले
३७औं मिनेटमा ओडे दब्बागले गोल गर्दै अग्रता दिलाएका थिए।
तर, त्यो अग्रता धेरै समय टिक्न सकेन। पहिलो हाफको इन्जुरी समयमा कतारका हसन-अल-हेदोषले खेल बराबरीमा ल्याए।
त्यसपछि दोस्रो हाफमा आयोजक कतारले पुनः एक गोल गर्यो। उसका लागि खेलको ४९औं मिनेटमा अक्रम अफिकले गोल पेनाल्टीमार्फत गोल गरे।
प्यालेस्टाइनी खेलाडी मोहम्मद सलाहले डिबक्सको एरियामा कतारी खेलाडीलाई फउल गरेपछि कतारले पेनाल्टी पाएको थियो।
माघ १६, २०८० मंगलबार ०७:४१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।