एनसेल छानबिन समितिको सिफारिस सरकारले मान्दा उपेन्द्र महतोदेखि ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरसम्म तानिन्छन् छानबिनमा

एनसेल छानबिन समितिको सिफारिस सरकारले मान्दा उपेन्द्र महतोदेखि ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरसम्म तानिन्छन् छानबिनमा

काठमाडौँ : एनसेलमा रहेको ८० प्रतिशत शेयर आजियटाले विक्री गरेको प्रकरणको अनुसन्धानकोक्रममा छानबिन समितिले डिसेम्बरमा भएको मात्रै हैन २०५८ देखिकै खरिद विक्रीको प्रक्रियामाथि प्रश्न उठाएर थप छानबिन गर्न सरकारलाई सुझाव दियो।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदनमा २०५८ मा स्थापना भएदेखि हालसम्म कम्पनीको १४ पटक शेयर तथा स्वामित्व खरिद विक्री भएकोमा धेरैजसो कारोबार नेपालबाहिर अफसोर(अवैध) का रूपमा भएको उल्लेख गरेको छ।

'उक्त कारोबारहरूसँग सम्बन्धित लेनदेनका अभिलेख तथा विवरणहरू कम्पनीले नेपालका आधिकारिक निकायहरूमा पेस गरेको नदेखिएको। कतिपय नेपाली सेयर धनीहरूको कारोबारको भुक्तानी नेपालको बैंकिङ्ग प्रणालीबाट नभई देशबाहिर समेत भएको देखिएको' सार्वजनिक भएको प्रतिवेदनको सारांशमा भनिएको छ।

समितिको सुझावमा विगतका एनसेल कम्पनीको शेयर खरिद र विक्रीमा विभिन्न कम्पनीहरू मार्फत नेपालमा र विदेशमा अपारदर्शीरुपमा भएका कारोबारहरू राजश्व चुहावट, विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरण भएको हुनसक्ने देखिएकोले सो सम्बन्धमा सम्बन्धित निकासहरूबाट अनुसन्धान हुनुपर्ने उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डले समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारलाई यस विषयमा छानबिन गर्न थप सहज हुने विश्वास समेत व्यक्त गरेका छन्।

यदि समितिको सिफारिस अनुसार एनसेलको नाममा भएको कारोबारको प्रक्रियाबारे सरकारले छानबिन गरेमा पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह, खेतान ग्रुपदेखि एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोसम्म छानबिनमा तानिने छन्।

२०५८ देखि ०८० सम्म आउँदा यसको १४ पटक कारोबार भएको समितिले उल्लेख गरेको छ।

२०५८ असार ७ गते स्पाइस नेपाल प्रालिको नाममा दर्ता भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी नै अहिलेको एनसेल हो। यसले प्रारम्भमा आफूलाई मेरो मोबाइलको रूपमा ब्राण्डिङ गरेको थियो। तत्कालीन अवस्थामा यसको शेयर मूल्य १ करोड रुपैयाँ रहेको थियो।

स्पाइसमा ५५ प्रतिशत सेयर भारतीय कम्पनी मोदी कर्प लिमिटेडको थियो। अर्को भारतीय कम्पनी स्पाइस सेल लिमिटेडको नाममा ५ प्रतिशत शेयर थियो भने खेतान ग्रुप लिमिटेडको नाममा ४० प्रतिशत शेयर थियो।

२०६१ मंसिरमा राज ग्रुप नेपालको नाममा  मोदी कर्पको नाममा रहेको ५५ प्रतिशत शेयर स्थानान्तरण भयो। पछि राज ग्रुपले नै खेतान समूहको ४० प्रतिशत सेयर समेत किन्यो। स्पाइस सेल भारतको नाममा ५ प्रतिशत शेयर बाँकी भयो।

२०६१ मंसिरमा साइप्रसको डाल्टो ट्रेड कम्पनीले राज ग्रुपबाट ५७ प्रतिशत सेयर किन्यो। डाल्टोले किनेको शेयरको क्यापिटल मूल्य १० करोड रुपैयाँ निर्धारण भएको थियो। ५ प्रतिशत सेयर भारतीय कम्पनी स्पाइस सेलकै नाममा रह्यो।

०६१ चैतमा पनि शेयर बेचिएको देखिन्छ। चैतमा टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्ड्स होल्डिङ कम्पनी सेयर खरिद किन्यो।

रेनोल्ड्स होल्डिङले डाल्टो ट्रेडसँग ४० प्रतिशत सेयर किनेको देखिन्छ। डाल्टो ट्रेडले आफूसँग १७ प्रतिशत सेयर राख्यो। राज ग्रुपको नाममा ३८ प्रतिशत रह्यो। स्पाइस सेलको नाममा ५ प्रतिशत रह्यो।

२०६२ फागुन २२ गते पुन शेयर विक्री भयो। रेनोल्ड्स होल्डिङसँग ५८ दशमलव ६, डाल्टो ट्रेड साइप्रससँग १७, राज ग्रुपसँग १९ दशमलव ४ र स्पाइस सेल भारतसँग ५ प्रतिशत सेयर रह्यो।

२०६३ जेठ २३ मा पुनः एनसेलको शेयर किनबेचहुँदै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नाममा रहेको सिनर्जी नेपाल कम्पनी नयाँ लगानीकर्ताको रूपमा भित्रियो।

त्यो बेलामा रेनोल्ड्ससँग ५८ दशमलव ६, डाल्टो ट्रेडसँग १७, राज ग्रुपसँग ११ दशमलव ४, स्पाइस सेलसँग ५ र सिनर्जीसँग ८ प्रतिशत सेयर गरेर पाँच समूह लगानीकर्ता बन्यो।

त्यही वर्षको असोजमा एनसेलको शेयर स्वामित्व बदलियो। राज ग्रुपले आफ्नो ११ दशमलव ४ प्रतिशत सेयर सिनर्जीलाई बेचेर बाहिरियो।  

अब रेनोल्ड्ससँग ५८ दशमलव ६, डेल्टोसँग १७, स्पाइस सेलसँग ५ र सिनर्जीसँग १९ दशमलव ४ प्रतिशत सेयर स्वामित्व भयो।

शेयर खरिदविक्रीकोक्रम जारी थियो। तर सरकारी निकायले न लाभकर पाएको थियो न अन्य विवरणै। २०६४ मंसिरमा स्पाइस सेलको नाममा रहेको १ दशमलव ४, ३ र  शून्य दशमलव ६ प्रतिशत सेयर जफत भयो।

मंसिरको तथ्याङ्कमा रेनोल्ड्ससँग ६०, डाल्टो ट्रेडसँग २० र सिनर्जीसँग २० प्रतिशत शेयर स्वामित्व पुग्यो। २०६५ साउन १ गते तीन वटा कम्पनीमा रहेको सेयर रेनोल्ड्ससँग ८० प्रतिशत र सिनर्जीसँग २० प्रतिशत पुग्यो।

यतिखेरसम्म मोबाइलको ब्राण्डिङ मेरो मोबाइलकै रूपमा भइरहेको थियो। २०६७ कात्तिकमा आएर मात्र ब्राण्डिङ बदलिएर एनसेल भयो। सिनर्जीको नाममा रहेको २० प्रतिशत शेयर महतोले आफ्नै नाममा ल्याए।

२०६८ चैत १६ मा महतोले आफ्नो नामको २० प्रतिशत शेयर विक्री गरे। अनि एनसेलमा भित्रिए नीरज गोविन्द श्रेष्ठ। २०७२ जेठ १९ गते श्रेष्ठले सो शेयर सुनिभेरा क्यापिटल भेन्चरकी भावना सिंहलाई बेचे।

रेनोल्ड्सले आफूसँग रहेको ८० प्रतिशत शेयर आजियाटालाई बेच्यो।  आजियाटा इन्भेस्टमेन्ट्स युके लिमिटेडको नाममा रहेको ८० यो प्रतिशत शेयर २०८० मंसिर १५ मा ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्यो जसको प्रमुख नेपाली मूलका सिंगापुरका नागरिक शतिषलाल आचार्य देखिए। सुनिभेराकी भावना शतिषलालाकै श्रीमती हुन्।

२०५८ बाट २०८०सम्म आइपुग्दा एनसेलको सबै शेयर स्वामित्व एकाघरमै आइपुग्यो। तर कानुनी रूपमा बठ्याइँ गर्दै शतिषलालको कानुनी हैसियत विदेशी नागरिक छ भने श्रीमती भावनाको कानुनी हैसियत नेपाली नागरिक।

एकाघरमै शतप्रतिशत शेयर आए पनि नेपालको कानुनको कमजोरीमा खेल्दै २० प्रतिशत स्वदेशी र ८० प्रतिशत विदेशी लगानीको हैसियत देखियो।

नेपालको दूरसञ्चार कानुन अनुसार ५० प्रतिशतभन्दा धेरै विदेशी लगानी भएको कम्पनीले अनुमति पाएको २५ वर्षपछि स्वामित्व सरकारको हुने प्रावधान छ। अहिले आएर एकाएक भएको खरिद त्यही कानुनको कमजोरीमा खेल्दै एनसेलको स्वामित्व सरकारीकरण हुनबाट जोगाउन खेलिएको खेलको रूपमा विवादमा आइरहेको छ।

नेपाल बाहिर शेयर खरिद विक्रीको काम भइसकेको छ। तर अदालतदेखि संसदीय समितिहरूको निर्देशनका कारण कम्पनी रजिस्टारको कार्यालयमा नयाँ किनबेचको विवरण सूचीकृत भएको छैन। समितिले नयाँ कम्पनीको आर्थिक र प्राविधिक क्षमतामै प्रश्न उठाएको छ। छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले थप छानबिन अगाडि बढाउने हो भने यो प्रकरण थप लम्बिने देखिन्छ।

माघ १६, २०८० मंगलबार ००:२३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।