डोटीमा पानी छुँदा दलित युवकमाथि कुटपिट, पीडित भन्छन्- ‘पानी पिउन खोज्दै थिएँ, एक्कासी कुटपिट भयो’

डोटीमा पानी छुँदा दलित युवकमाथि कुटपिट, पीडित भन्छन्- ‘पानी पिउन खोज्दै थिएँ, एक्कासी कुटपिट भयो’

काठमाडौं : होटलमा पानी छोएको निहुँमा डोटीका ईश्वर धामीले एक दलित युवामाथि कुटपिट गरेका छन्।

केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वरले सोही वडास्थित लेककोटका रमेश भुललाई आज दिउँसो हातपात गरेका हुन्।

भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए।

६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरीकहाँ गएका छन्।

पीडित रमेश भुलका अनुसार पानी पिउन लागेको बेला किन छोइस् भन्दै व्यापारी धामीले एक्कासी कुटपिट गरेका थिए।

‘पानी पिउन पसलमा राखेको जर्किनबाट ओसार्दै थिए, उनले एक्कासी थप्पड हानेँ,’ भूलले भने, ‘किन हान्नु भएको भन्दा दलित भएर पानी किन छोइस् भन्दै थप कुटपिट भयो।’

पीडित रमेश भूलले आफूमाथि मात्र नभएर सिंगो दलित जाति माथिको अपमान भएको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्। जातीय विभेदको घटना इलाका प्रहरी कार्यालयले हेर्न नमिल्ने भन्दै बायल प्रहरी चौकीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको इलाका प्रहरी कार्यालय बायलका इन्चार्ज असइ मानसिंह भण्डारीलेले बताए।

उनले उकेरासँग भने, ‘अहिलेसम्मको जानकारी अनुसार होटलमा झगडा भएको भन्ने आएको छ। पानी छोएको निहुँमा कुटाइ खाएको भन्ने पीडित पक्षको भनाइ छ।’

इलाका प्रहरी कार्यालयका इन्चार्ज भण्डारीले पानी छोएको निहुँमा कुटपिट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी आएको बताए। असई धामीका अनुसार दुवै पक्ष मदिरा सेवन गरी बेलकीपख आफूकहाँ आएका भए पनि सोमबार सिलगढी पठाएको बताए।

प्रत्यक्षदर्शीका अनुसार धामीले जातीय आरोप लगाउँदै कुटेको स्वीकारेका छन्। यद्यपि सामान्य घटना भन्दै गाउँमै सहमति गर्नका लागि पीडित पक्षलाई दबाब आइरहेको दलित अगुवाहरुको गुनासो छ।

‘२१ औं शताब्दीमा आइपुगेर पनि यस प्रकारको निकृष्ट व्यवहार सहृय हुन सक्दैन,’ केआईसिंह–४ बायलका दलित अगुवा वसन्त विकले भने, ‘होटलमा समेत दलितले पानी पिउन नपाउने? कुन हदसम्मको अपमान हो।’

माघ १५, २०८० सोमबार १९:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।