पक्राउमा बाध्यकारी हुन्न इन्टरपोलको नोटिस, डिपोर्ट समेत स्वैच्छिक

पक्राउमा बाध्यकारी हुन्न इन्टरपोलको नोटिस, डिपोर्ट समेत स्वैच्छिक

काठमाडौँ : सहकारी ठगीमा फरार रहेका जीवी राई, भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गराएको छ। नेपालमा नरहेको तर कुन देश गएको एकिन नभएको अवस्थामा प्रहरी संगठनमा रहेको इन्टरपोलको नेशनल कोअर्डिनेशन ब्युरोको अनुरोधमा यस्तो नोटिस जारी हुने गरेको छ।

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत कास्कीमा उनीहरुविरुद्ध मुद्दा दायर भएपछि तीनै जना फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेपछि डिफ्यूजन नोटिस जारी भएको थियो। जीवी भागेर मलेसिया पुगेको आशङ्का गरिए पनि उनको ट्राभल्स हिष्ट्री भने फेला परेको छैन।

केहीस्रोतहरु जीवी नेपालमै रहेको र अहिले पनि नेचर हर्ब्सको बुद्धनगरमा रहेको कार्यालयमा बेलाबखत आउजाउ गर्ने गरेको दाबी गर्छन्। उनी विदेश गएकोबारे अध्यागमन विभागमा समेत कुनै रेकर्ड छैन।

पूर्वअध्यक्ष भूपेन्द्र र थानबहादुरविरुद्ध समेत डिफ्युजन नोटिस जारी भइसकेको छ। शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल र कुमार रम्तेल भने पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन्।

जीवी ग्यालेक्सी फोर–के टेलिभिजनका अध्यक्ष समेत हुन्। कास्कीमा रहेको शुर्यदर्शन सहकारीमा रहेका १८ हजार बचतकर्ताको डेढ अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

सहकारीको बचत दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नाम समेत जोडिए पनि आफूलाई कारोबारबारे केही जानकारी नभएको दाबी गर्दै आएका छन्।

जीवी समूहले पोखराको शुर्यदर्शनसँगै चितवनको सहारा, बुटवलको सुप्रिम र वीरगञ्जको सानोपाइला सहकारीमा रहेको बचतकर्ताहरूको रकम समेत दुरुपयोग गरेको खुलिसकेको छ। जीवी समूहले काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी समेत खोलेका थिए।

बाध्यकारी हुन्न इन्टरपोलको नोटिस

डिफ्युजन नोटिस जारी भए पनि सम्बन्धित व्यक्ति तत्काल पक्राउ पर्दैनन्। जुन देशले इन्टरपोलको नोटिसलाई आफ्नो देशको कानुन कार्यान्वयन गर्ने निकायले जारी गर्ने पक्राउ आदेश समानको कानुनी मान्यता दिएको हुन्छ त्यो देशमा यो प्रभावकारी हुन्छ। नेपालमा समेत इन्टरपोलको नोटिस जारी भएका व्यक्ति पक्राउ बाध्यकारी छैन।

तर पक्राउ गरेर सम्बन्धित देशमा पठाउन सम्बन्धित देशसँग सुपुर्दगी सन्धि हुन आवश्यक छ। इन्टरपोल विश्वका विभिन्न देशका प्रहरीहरू सहभागी संगठन भएकाले फरार आरोपीबारे सूचना आदानप्रदान हुनसक्छ।

 

सम्बन्धित देशको नागरिक नभएको हकमा पक्राउ गरेर नबुझाए पनि भिसा रद्द गरेर डिपोर्ट भने गर्ने गरेको छ। सोही आधारमा जीवीसहित भागेर पुगेका देशको अध्यागमन र प्रहरीले चाहेमा जीवीसहितलाई डिफ्युजन नोटिसको आधारमा डिपोर्ट गरेर नेपाल पठाउन सक्छ। 

इन्टरपोलको नोटिस भारतसहित प्राय खाडी मुलुकहरूमा प्रभावकारी देखिने गरेका छन्। अमेरिका अनि युरोपेली मुलुकमा भने अपराधको गम्भीरताको आधारमा सो देशले व्यवहार गर्ने गरेको देखिन्छ। अवैध मानव ओसारपसार, महिला तथा बालबालिकासँग जोडिएको गम्भीर अपराध, अवैध हातहतियार, लागुऔषध, आतकंवाद लगायतका अपराधमा तत्काल सक्रिय हुने गरे पनि आर्थिक अपराध लगायतको गतिविधिमा भने त्यति सक्रिय हुने गरेका छैनन्।

नेपालमा बैङ्किङ कसुर गरेर भागेर अमेरिका पुगेका केही हकमा प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस नै जारी गराए पनि अमेरिकी कानुन अनुसार ती व्यक्तिमाथि लागेको अभियोग अपराध नभएको भन्दै डिपोर्ट गर्न अस्वीकार गरेका थिए। 

नेपालमा वन्यजन्तु र पुरातत्त्व सम्बन्धी गम्भीर अपराध गरेर फरार रहेका इयान बेकरविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको आधारमा उनलाई ग्रिस प्रहरीले नियन्त्रणमा लिएको थियो। तर ग्रिसले नेपाल नपठाई मुक्त गरेको थियो।

माघ १५, २०८० सोमबार १९:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।