तीन वाणिज्य बैंक, दुई विकास बैंक र एक कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन वाणिज्य बैंक, दुई विकास बैंक र एक कम्पनी राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ : नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, एउटा कम्पनीलाई कारबाही गरेको छ।

कारबाही पर्ने वाणिज्य बैँकहरूमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक रहेका छन्। विकास बैँकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैँकलाई कारबाही गरेको हो। त्यस्तै, कम्पनीअन्तर्गत रिलायन्स फाइनान्स लिमिटेडलाई कारबाही गरेको छ।

ग्लोबल, प्रभु र हिमालयन बैंकका सञ्चालक र सिइओलाई सचेत मात्रै

राष्ट्र बैंकले ग्लोबल आइएमई बैँकलाई नियमविपरीत प्रिमियम दर बढाएर ग्राहकहरूबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता नगरेको भन्दै कारबाही गरेको हो।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७९ को निर्देशन नम्बर १५ को बुँदा नम्बर ३९८० मा ग्राहकसँग तोकिएको भन्दा बढी प्रिमियम लिन नहुने निर्देशनको विपरीत ग्राहकबाट असुल गरेको रकम ग्राहकको खातामा फिर्ता गरेको भन्दै कारबाही गरेको उल्लेख छ।

तर, ग्लोबल आइएमईले आर्थिक वर्ष २०७९/०८० मा पुनः निर्देशन विपरीत प्रिमियम दर बढाएको थियो।

कर्जा दुरुपयोग भएको, व्यवसाय संचालनमा नरहेको, लिलामी प्रक्रियामा रहेको, ऋण र स्वपुँजीको अनुपात (डेप्ट इक्वीटी रेसियो) नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्दा निष्क्रिय (खराब) कर्जाहरूको समेत पुनर्तालिकीकरण र पुनर्संरचना गरी उक्त कर्जाहरूलाई सक्रिय कर्जामा वर्गीकरण गरेको पाईएकोले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसिहत दिएको छ भने सञ्चालक समितिलाई सचेत गराइएको छ।

त्यस्तै, कारबाहीमा पर्ने वाणिज्य बैँकमा प्रभु बैंक छ।

उक्त बैंकले एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. २/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं.१५/०७९ को ३९८० को व्यवस्था विपरीत प्रिमियम दर वृद्धि गरी ब्याज असुलउपर गरेको र पुँजी अपर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरूमा क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५ को व्यवस्थाविपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, उपर्युक्त कार्यहरूको समयमै निगरानी तथा अनुगमन नगरी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६/०७९ को बुँदा नं. २ को सञ्चालक र सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी यस बैँकबाट जारी निर्देशन उल्लंघन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

कारबाहीमा पर्ने अर्काे वाणिज्य बैंक हिमालयन बैंकले पुँजी अपर्याप्तता अनुपात (क्याापिटल एड्युकेसी रेसियो) गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पूँजीबाट घटाउनुपर्ने रकम नघटाइ तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी अपर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको पाइएको छ।

एकीकृत निर्देशन २०७९, निर्देशन नं.२/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नसिहत दिएको र सञ्चालक समितिले यथोचित समयमा उक्त विषयहरूमा व्यवस्थापनको अनुगमन नगरेकाले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड –क बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैँकलाई १० लाख जरिवाना, गरिमा विकास बैंक र रिलायन्सलाई सचेत

एकीकृत निर्देशन नं. १९/२०८० को बुँदा नं. ५९१० बमोजिम वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको तथा सोही निर्देशनको बुँदा नं. १४९१० बमोजिम निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरकाले मुक्तिनाथ विकास बैँकलाई १० लाख रूपैयाँ नगद जरिवाना गराएको राष्ट्र बैंकले जनाएको छ।

गरिमा विकास बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्तिसमेतको नाममा सञ्चालनमा रहेको संयुक्त खातामा बिमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरूको अनुगमन नभएको देखिएकाले संस्थाको संस्थागत सुशासन र संचालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएकोले संचालक डा.आनन्द प्रसाद श्रेष्ठ र उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाललाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरूको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यावसायिक कारोबारहरू भएको, खाताको सीडीडी नियमित रुपमा अद्यावधिक समेत नभएकोले संस्थाको संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको हुनाले सञ्चालक कुशप्रसाद मल्ली र उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

माघ १५, २०८० सोमबार १८:०४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।