'अगस्त्य च्याप्टर १’ मा देखिएको सौगातको सस्पेन्स लुक्स, टिजरमा छुस्स मात्र देखिए निश्चल
काठमाडौँ : फिल्म अगस्त्य च्याप्टर १’को फस्टलुकमा देखिएको अभिनेता सौगात मल्लको लुक्सले नेपाली फिल्मबारे चासो राख्ने धेरैमा उत्सुकता बढाएको थियो।
प्राय फिल्महरूमा देखिँदै आएकोभन्दा भिन्न देखिएका थिए सौगात। फागुनको १८ गते रिलिज मिति तोकेको फिल्मको टिजरले सौगातको लुक्सबारे केही सस्पेन्स खुलाएको छ। तर अझैँ धेरै अनुमानमै सीमित छ।
सौगातसँगै टिजरमा नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, रवीन्द्र झा अनि शिशिर बाङ्देल देखिएका छन्।
फिल्मको कथावस्तु अपराधमा केन्द्रित रहेको टिजरले खुलाएको छ। अपराध अझ त्यसमा पनि महिला बेचबिखनको मुद्दामा फिल्म बनेको देखिन्छ।
आफ्नो कुनै महिला सदस्य बेचिएपछि उनको खोजी र उद्धारका लागि सौगातले गरेको सङ्घर्ष फिल्मको मूल कथा हुनसक्ने देखिन्छ।
सौगातसँगै देखिएका प्रमोद अग्रहरी नेगेटिभ भूमिकामा देखिएका छन्। शिशिर वाङदेल प्रहरीको भूमिकामा देखिएका छन्। तर निश्चलको भूमिका के हो खुल्दैन। उनलाई झुलुक्क मात्र देखाइएको छ टिजरमा।
फिल्मको लेखन अनि निर्देशन दुवै सौरभ चौधरीले गरेका छन्। प्रकाश मल्ल,अनीश तामाङ र विनोद पौडेलको लगानीमा बनेको फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता छन्।
फिल्ममा संजय लामाको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन र एस डी योगीको संगीत छ।
फिल्मको मुख्य चासो नै सौगातको लुक्स हो। टिजरमा देखाइए अनुसार महिलालाई देहव्यापारमा लगाउन अपहरण गर्ने समूह खोज्न उनले मानसिक सन्तुलन खलबलिएको पात्रको चरित्र लिएर अपहरणमा परेको पात्रको खोजी गरेको हुनसक्ने देखिन्छ।
मधेसको खलनायक चरित्रमा देखिएका प्रमोदको लुक्स पनि आकर्षक देखिन्छ। फिल्मप्रति चासो निर्माण गर्न फिल्म निर्माणपक्षले निकै मिहेनत गरिरहेका छन्। मिहेनत एक हदसम्म सफल पनि देखिन्छ।
फस्टलुकको केही रहस्य टिजरमा खुल्यो। टिजरले कायम राख्न सकेको सस्पेन्स ट्रेलरसम्म आइपुग्दा कायम हुन्छ या हुन्न मुख्य चुनौती यही देखिन्छ निर्माणपक्षको।
माघ १५, २०८० सोमबार १७:०७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।