झगडा छुट्याउन गएका दुई प्रहरी जवानमाथि ढुंगामुढा र कुटपिट

झगडा छुट्याउन गएका दुई प्रहरी जवानमाथि ढुंगामुढा र कुटपिट

सुर्खेत : रुकुम पश्चिमको बाँफिकोटमा दुई प्रहरी जवानमाथि कुटपिट भएको छ।

ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो।

आइतबार बेलुका ७ बजे बाँफिकोट गाउँपालिका-३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता एवं प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

प्रहरी निरीक्षक खड्काका अनुसार एक युवकमाथि कुटपिट भइरहेको स्थानीयको खबरका आधारमा झगडा छुट्याउन उनीहरूलाई खटाइएको थियो।

तर, त्यहाँ पुग्नासाथ मदिराले मातेका व्यक्तिहरूले एकाएक प्रहरी जवान शाही र खड्कामाथि ढुंगामुढा गर्दै कुटपिट थालेको प्रहरी निरीक्षक खड्काले बताए।

‘झगडा छुट्याउन गएकालाई कुटपिट गरे। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ,’ खड्काले भने, ‘जाँड खाएर मातेका युवाहरूले दुई प्रहरी जवानमाथि कुटपिट र ढुंगामुढा गरेर घाइते बनाए।’

उनका अनुसार घाइते दुवै प्रहरीलाई साेमबार बिहान थप उपचारका काठमाडौंका पठाइएको छ।

कुटपिट र ढुंगामुढा गरेको आरोपमा रुकुमपश्चिमकाे बाँफिकोट-४ का २८ वर्षीय लक्ष्मण विक, सोही ठाउँका २२ वर्षीय जनक खनाल, २२ वर्षीय कैलाश पुरी, बाँफिकोट-६ का अन्दाजी १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेकाे छ।

घटनामा संलग्न अन्य फरार युवाहरूको समेत प्रहरीले खोजी गरिरहेकाे छ।

१५ माघ, २०८०, १३:३४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।