‘नमेटिने घाउ’को मुर्हतमा ओलीले सम्झिए भीमनारायणलाई दिएको मृत्युदण्ड
काठमाडौं : जघन्य अपराधी तथा एसिड आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्ने कुरा उठिरहेको अवस्था एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु दण्ड दिन नहुने तर्क गरेका छन्।
आइतबार बत्तिस पुतलीमा फिल्म ‘नमेटिने घाउ’को मुर्हत कार्यक्रममा उनले नेपालको कानुनमा प्रश्न उठाउँदै निर्दोषलाई दण्ड दिने हुँदा मृत्युदण्डको कानुन बनाउन नहुने तर्क गरे।
२०४६ सालअघि नेपालमा मृत्युदण्डको सजाय हुँदा आफ्नै आँखा अगाडी निर्दोष मान्छेलाई गोली हानेर मारेको स्मरण गर्दै उनले मृत्युदण्डको सजाय दिन नहुने बताए।
कार्यक्रममा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा अपराधीहरू खुलेआम हिँडिरहेको बताउँदै मृत्युदण्डको सजाय नहुँदा उनीहरू झन् उत्साहित हुने गरेको बताए।
त्यसपछि बोलेका ओलीले राप्रपाका प्रवक्ता समेत रहेका शाहीतर्फ फर्कँदै भने, ‘४६ सालअघिसम्म मृत्यदण्डको सजाय थियो। भीमनारायण श्रेष्ठलाई मृत्युदण्डको सजाय सुनाएर मेरो अगाडीबाट निकालेर लगेर गोली ठोकेर मारिएको थियो।’
नेपालको न्याय प्रणाली ठिक नभएको भन्दै उनले आफूसँगै जेल बसेका ‘निर्दोष’ भीमनारायणलाई अदालतले मृत्युदण्ड दिएको घटनालाई स्मरण गरे।
‘३५ साल माघ २५ गते राति हामीसँगै रहेका थिए यज्ञबहादुर थापा र भिम नारायण श्रेष्ठ। क्याप्टेन यज्ञबहादुर थापा त ओखल ढुङ्गा काण्ड चर्चित थियो। त्यसको नेतृत्व थापाले गर्नुभएको थियो। तर, भीमनारायण श्रेष्ठ भनेको त एउटा पढेलेखेको, लोकतान्त्रिक मूल्यमान्यता अनुसार भद्रभलाद्मी व्यक्ति, व्यवसायी,’ उनले भने, ‘उहाँको संलग्नता नेपाली कांग्रेसमा थियो। तर उहाँले न बम हान्नु भएको थियो न बन्दुक बोक्नुभएको थियो न केहि गर्नुभएको थियो न कुनै राजालाई भेट्या थियो न राजासँग कुनै दुस्मनी थियो न केहि गर्नुभएको थियो। तर राजतन्त्र फाल्न खोजेको, राजा मार्न खोजेको आरोपमा उनलाई विभिन्न आरोपमा ३५ साल माघ २३ गते गोलघरबाट राति लगेर गोली हानेर मारियो।’
मृत्युदण्डको सजाय दिँदा दोषीभन्दा निर्दोष फस्ने र आफ्नो गल्तीको महसुस समेत गर्न नपाउने बताए।
‘मृत्युदण्ड दोषीले मात्र पाउँछ या जघन्य अपराध गर्नेले मात्र पाउँछ भन्ने छैन,’ उनले थपे, ‘नेपालमा कस्तो छ भने एउटा निर्दोषलाई फसाइदिने दोषीलाई चाहिँ उम्क्याइदिने गर्छन्। हामीले न्याय प्रणालीमा सुधार गर्नुपर्नेछ।’
एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’मा अध्यक्ष ओलीले प्रधानमन्त्रीको भुमिका निर्वाह गर्दैछन्।
उनले निर्माण टिमलाई एसिड प्रहार देखि एम्बुलेन्स हुँदै हस्पिटलसम्म पुर्याउदाको अवस्थालाई पनि देखाउन आग्रह गरे। फिल्मको मुर्हतमा उनलाई नै निर्देशक बनाएर एक्सन कट गर्न लगाइएको थियो। फिल्मको मुर्हतमा ‘एक्सन कट’ भन्दा उनी निकै उत्साहित देखिए।
फिल्ममा अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गर्दैछन् भने लेखन शिवम् अधिकारीको छ। फिल्ममा एसिड पिडित मुस्कान खातुनदेखि लिएर सुरविर पण्डित लगायतको अभिनय रहने निर्माण पक्षबाट जानकारी दिइयो।
माघ १५, २०८० सोमबार १०:१२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।