माल्दिभ्सको संसदमा सत्तारुढ र विपक्षी सांसदबीच कुटाकुट

माल्दिभ्सको संसदमा सत्तारुढ र विपक्षी सांसदबीच कुटाकुट

एजेन्सी : माल्दिभ्सको संसदमा विपक्षी र सत्तारुढ दलका सांसदबीच कुटकुट भएको छ।

माल्दिभ्समा मोहम्मद मुइज्जुको सरकारलाई चीन समर्थक र त्यहाँको विपक्षीलाई भारत समर्थक मानिन्छ।

माल्दिभ्सका विपक्षीहरूले भारतसँगको सम्बन्ध बिगारेको भन्दै मुइज्जु सरकारको आलोचना गर्दै आएका छन्।

आइतबार राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई लिएर झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

कतिपय सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध गरे भने कतिपय सांसदको टाउकोमा चोट लागेर अस्पताल समेत लैजानुपरेको थियो।

संसदमा भएको यो झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।


माल्दिभ्समा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स, पिपुल्स नेसनल कांग्रेस (पीपीएम) र पीएनसीबीच गठबन्धनको सरकार छ।

यो गठबन्धनले चार जना नयाँलाई मन्त्रिपरिषद्मा ल्याउन चाहन्छ। तर, विपक्षी दलहरू यो चाहँदैनन्।

माल्दिभ्सको प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले चार जना मन्त्रिपरिषद् सदस्यको संसदीय अनुमोदन रोक्ने निर्णय गरेको थियो।

मोहम्मद मुइज्जु सरकारलाई समर्थन गर्ने सांसदहरूले त्यसको विरोध गरेपछि संसद बैठकमै झडपमा स्थिति बन्यो।

कान्दथिमुका सांसद अब्दुल्लाह शाहीम अब्दुल हकीम शाहीम र केन्दीकुलहुदुका सांसद अहमद इसाबीच झडप भएको थियो।

झडपका क्रममा दुवै सांसद सभामुखको कुर्सी नजिकै लडेका थिए। शहीमको टाउकोमा चोट लागेको छ। अल्पसंख्यक नेता मुसा सिराजले पनि यो झगडा रोक्न खोजेका थिए।

सांसद शाहीमलाई अस्पताल लैजानुपरेको थियो। हसन जहीर नामका सांसदको पनि औंलामा गम्भीर चोट लागेको छ। झडपका कारण मन्त्रिपरिषद् सदस्य अनुमोदनको विषयमा मतदान हुन सकेन।

सरकार समर्थक र नेताहरू अहिले संसद बाहिर विरोध प्रदर्शन गरिरहेका छन्। नयाँ मन्त्रिपरिषद्लाई अनुमोदन गर्नुपर्ने उनीहरूको माग छ।

माघ १५, २०८० सोमबार ०९:१४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।