कोशीमा मुख्यमन्त्री बनेको सय दिनपछि मन्त्रिपरिषद बिस्तार गर्दै केदार कार्की

कोशीमा मुख्यमन्त्री बनेको सय दिनपछि मन्त्रिपरिषद बिस्तार गर्दै केदार कार्की

काठमाडौं : जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार बिस्तारको तयारी गरेका छन्।

मन्त्रिपरिषद बिस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरूसँग छलफल गर्ने भएका हुन्।

छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद बिस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।

तत्कालका लागि तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्ति गर्ने तयारी कार्कीको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ।

माओवादी केन्द्रबाट कतिजना मन्त्री बन्ने भन्ने यकिन छैन। एकजना मन्त्री बन्ने अवस्था आए उदयपुरका नारायण बुर्जा मगरले अवसर पाउने सम्भावना छ। माओवादीको भागमा दुईजना पर्ने अवस्थामा भने संखुवासभाका राजेन्द्र कार्की पनि मन्त्री नियु्क्त हुन सक्ने सम्भावना छ।

सरकारमा माओवादीले थप दुईजना मन्त्री दाबी गर्दै आएको छ।

कोशी प्रदेश सरकारमा हाल कांग्रेसबाट मुख्यमन्त्री कार्कीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन्।

कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

माघ १४, २०८० आइतबार १०:५७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।