एकीकृत समाजवादीको दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि, विधान हेरफेर गरिने

काठमाडौं : विधान हेरफेर गर्न एकीकृत समाजवादी पार्टीले आजबाट राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ।
राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज मस्यौदा सम्बन्धमा छलफल हुने एकीकृत समाजवादीले जनाएको छ।
सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष माधव कुमार नेपालले आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा गर्नेछन्।
काठमाडौंमा दुई दिन चल्ने सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ।
एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने जनाइएको छ।
माघ १४, २०८० आइतबार ०८:०२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।