एनआरटीले जित्यो इलाम गोल्डकप, इलामका गोलरक्षक विवेक राइजिङ प्लेयर
विराटनगर : इलाममा जारी इलाम गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ। शनिवार भएको फाइनलमा एनआरटीले बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलअन्तरले पराजित गरेको हो।
खेलको निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो।
एनआरटीका सुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरेका थिए। एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाएका थिए।
बिर्तामोड युनाइटेडका हिसुब थपलिया आजको खेलको म्यान अफ् दि म्याच घोषित भए। फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाएका थिए।
एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो। बिर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टरफाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो।
विजेता टिम एनआरटीले पाँच लाख रुपैयाँसहित ट्रफी पारेको छ। उपविजेता बिर्तामोड युनाइटेडले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ।
एनआरटीका प्रिसो प्रतियोगिताको उत्कृष्ट गोलकिपरका रूपमा पुरस्कृत भए। बिर्तामोड युनाइटेडका योगेश गुरुङ उत्कृष्ट मिडफिल्डर भए। उत्कृष्ट बेस्ट फरवर्डमा एनआरटीका राजीव लोप्चन र उत्कृष्ट प्रशिक्षकमा एनआरटीका हरिहोम श्रेष्ठ पुरस्कृत भए।
इलामका गोलरक्षक विवेक मगर राइजिङ प्लेयर भए भने सर्वाधिक गोलकर्तामा इलामकै नवयुग श्रेष्ठ (४ गोल) ले पुरस्कार पाए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा बिर्तामोड युनाइटेडका रोहन कार्कीले पुरस्कार प्राप्त गरे।
इलामको रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो। प्रतियोगितामा दार्जिलिङको एउटा टिमसहित आठवटा टिमको सहभागिता थियो।
माघ १३, २०८० शनिबार २१:४५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।