ज्ञानेन्द्र शाहले नारायणहिटी घटनामा राजनीतिक जालझेल गरेर भ्रम फैलाएको दाबी गरे

ज्ञानेन्द्र शाहले नारायणहिटी घटनामा राजनीतिक जालझेल गरेर भ्रम फैलाएको दाबी गरे

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्डलाई राजनीतिक जालझेल गरेर भ्रम फैलाएको दाबी गरेका छन्।

वीरेन्द्र शाहको बंशनाशसँगै अधिकांश राजपरिवारका सदस्यहरू मारिएको घटनाबारे ज्ञानेन्द्र कमै बोल्छन्। वीरगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधनकोक्रममा भने उनले २२ वर्ष पुरानो घटनाबारे बोल्दै राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको दाबी गरेका छन्।

'२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइयो,' उनले भने'  हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिल्यै हुँदैन।'

उनले घटनाको प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझ पनि बहकिरहेको र अन्यायपूर्ण मात्रै नभई यो दुर्भाग्यपूर्ण रहेको उनले दाबी गरेका छन्।

उनले सम्बोधनमा देश सबैतिर उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यतिर खस्किएको र देशलाई झन्झन् बर्बादीतिर नलैजान अनुरोध गर्दै सबैलाई सोध्न र समीक्षा गर्न आग्रह गरेका थिए।

'हामी भूगोल र भू बनोटमा बाँडिने होइन। जातजाति, धर्म र संस्कृतिमा खण्डित हुने होइन। हामी सबैको देश नेपालमा बस्ने हामी सबै नेपाली,' उनले भने'त्यसैले, विभेदको,, विखण्डनको र विग्रहको, निषेधको राजनीति हामी नगरौँ। हामी सबैको भलाई यसैमा छ।' 

उनले आफ्ना आत्मीय, अग्रजलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुगनपुग ७ वर्ष राष्ट्र प्रमुखको हैसियतमा दायित्व निर्वाह गरेको र तत्काल अप्ठ्यारो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस्, प्रजातन्त्रका मान्यता राखेर काम गरेको दाबी गरे।

उनले २०६५ जेठ २९ गते राजदरबारबाट परित्याग गर्दा सञ्चार माध्यमबाट नेपालमा बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहने अनि स्वाभिमानी नेपालीको आत्म कामना होस् भन्ने मेरो कामना गरेको बताए।

'हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदाशयता कायम रहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ। र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेरको आंकलन हो,' उनले भने' बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु।'

चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको र अहिले पनि देशको उन्नति होस्, भेदभावरहित ढङ्गले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने भावना रहेको उनले बताएका छन्।

'आफ्नो अस्तित्व, पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लडखडिएर, देशमा सनातनदेखि रही आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन। यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ' उनले भनेका छन्। 

माघ १३, २०८० शनिबार २१:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।