कार्यकर्तालाई प्रतिवादमा उत्रिन उक्साउँदै प्रधानमन्त्री प्रचण्ड, सोधे' कहाँ गयो त्यो जोस?'

कार्यकर्तालाई प्रतिवादमा उत्रिन उक्साउँदै प्रधानमन्त्री प्रचण्ड, सोधे' कहाँ गयो त्यो जोस?'

काठमाडौँ : प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विपक्षमा धारणाहरू राख्दा पनि पार्टीपङती मूकदर्शक बनेर बसेको भन्दै प्रतिवाद गर्न उक्साएका छन्।

शनिवार पार्टीको शहिद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने' ‘हाम्रा महान शहीदहरूलाई अपमान गरेको सहन सक्दैनौँ भन्दै मुठ्ठी उठाएर अगाडि बढ्न हामीलाई के ले रोक्यो,किन जोस आइरहेको छैन हामीलाई?’

सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मारिएको भाष्य बनाउन खोजिएको भन्दै उनले यो झुटो भएको बताए। माओवादीको अपमान गर्न १७ हजार प्लस दुई भनेर ब्यानरै बोकेर उभिँदा पनि पार्टीपङती मौन बसेको भन्दै उनले असन्तुष्टि जनाए।

ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विवादमा भएको झडपमा प्रहरीको गोली लागेर दुई युवक मारिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस दुई लेखिएको ब्यानर बोकेकी विरोधमा उत्रिएकी थिइन्।

'एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईँ हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन’, तोसिमा लक्षित गर्दै प्रचण्डले भने, ‘हिजो भए हामी सहन्थ्यौँ त, के गर्थ्यौँ, हामीले कस्तो प्रतिवाद गर्थ्यौँ, कसरी गर्थ्यौँ?’

उनले माओवादी जनयुद्धमा ज्यान गुमाएकालाई सरकारले शहीद घोषणा गरिसकेको बताउँदै प्रश्न गरे' उनीहरूलाई अपमान गर्दा मुठ्ठी उठाएर अघि बढ्न के ले रोक्यो?'

माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरेर राज्यले आफ्नो काम गरेको भन्दै प्रचण्डले भने, ‘हाम्रा शहीदलाई अरूले सम्मान गरिदिउन् भनेर पर्खेर बस्ने होइन, हाम्रा शहीदलाई हामीले सम्मान गर्नुपर्यो।’

माघ १३, २०८० शनिबार १८:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।