अडानी-अम्बानी लगायतका विश्वका प्रतिष्ठित व्यवसायी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री
काठमाडौँ : अर्थमन्त्री डा.प्रकाशशरण महतले विश्वका प्रतिष्ठित व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन्। सरकारले आगामी वैशाखमा नेपालमा लगानी सम्मेलनको आयोजना गर्दैछ।
यस अगाडि नै भारतमा प्रतिष्ठित उद्ध्योगीहरुले नेपालको विमानस्थल, बन्द भएका सरकारी उद्योग, सडक र जलविद्युतमा लगानी गर्न चासो व्यक्त गरिरहेको विवरण सार्वजनिक भइरहेका छन्।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले आर्थिक गतिविधि बिस्तारै बढिरहेको, सेयर बजार उकालो लागेको उदाहरण दिँदै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताए।
‘पोजेटिभ न्यारेटिभ सँगसँगै हाम्रो बिजनेस र उपभोक्ताको कन्फिडेन्स बढ्छ। यो सँगै उपभोक्ताको कन्फिडेन्स बढेपछि तिनीहरूले वस्तुको उपभोग गर्न थाल्छन्। त्यसले लगानी बढाउँछ। आर्थिक गतिविधि बढाउँछ’ उनले भने।
नेपालीहरू उद्यमशीलतामा निकै सक्षम रहेको र विदेशमा रहेर उद्यमशीलता विकास गर्न सक्नेले नेपालमा पनि राम्रो गर्ने बताए।
उनले ‘इमर्जिङ नेपाल’ नाम दिएर वैशाखमा गर्न लागेको लगानी सम्मेलन गर्न आवश्यक कानुनी र अन्य आधारहरू पूरा गर्न लागिरहेको जानकारी दिँदै नेपालमा लगानी गर्न भारतका उच्चस्तरका व्यापारी र व्यवसायी इच्छुक रहेको बताएका थिए।
भारतसँगै अमेरिका, चाइनालगायतका व्यवसायीहरू नेपालमा लगानी गर्न इच्छुक देखिँदा सबैतिरबाट लगानी गर्ने वातावरण बनिरहेको भन्दै उनले यही बेलामा नेपाली लगानीकर्ता र उद्यमीले फाइदा लिएर नेपालको प्रमोट गर्नुपर्ने बताए।
‘बाहिरबाट लगानीको यथेष्ट इच्छा प्रकट भएको छ। इन्डियामा अडानी, अम्बानीलगायत धेरैसँग अलग-अलग भेट भयो, उनीहरू नेपालमा लगानी गर्न इच्छुक छन्। लन्डनका उच्च तहका व्यवसायीहरू पनि इच्छुक छन्। अमेरिका र चाइनाका व्यवसायी पनि इच्छुक छन्’ उनले भने, ‘अहिले सबैतिरबाट सुहाउँदो वातावरण बनिरहेको छ। नेपाली उद्यमी र लगानीकर्ताहरूलाई म अनुरोध गर्छु यो समयको उपयोग गर्नुहोस्।'
माघ १३, २०८० शनिबार १८:२२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।