'गोर्खा वारियर'ले दोहोर्याउला त 'लाहुरे' को सफलता!
काठमाडौँ : अधिकांश जीवन चलाउन केही सम्पन्नताको लोभमा अर्काको देशका लागि भाडाको सिपाही भए पनि अदम्य साहसका कारण बरिताको इतिहास बनाएका छन् नेपालीहरूले।
त्योक्रम रोकिएको छैन। हिजो ब्रिटिस गोर्खाहुँदै वैध रूपमै भाडाको सिपाहीको रूपमा काम गर्न थालेका नेपालीहरू अहिले त अवैध रूपमा रुसका लागि भाडाको सिपाही भएर मारिइरहेका छन्।
अनि त्यही वीरताको गाथा समेट्दै नेपालको लाहुरे संस्कारबारे फिल्म पनि अनगिन्ती बनेका छन्। तर लाहुरेमाथि बनेका फिल्महरूमा तुलसी घिमिरेको उही फिल्म लाहुरेको रेकर्ड ब्रेक गर्नेगरि अर्को फिल्म बन्न सकेको देखिएन।
अहिले मिलन चाम्स मलाया युद्धमा गोर्खा फौजको बहादुरीको कथा समेटेर बनेको फिल्म 'गोर्खा वारियर' को प्रचारमा जुटेका छन् घिमिरेको सफलताको इतिहास दोहोर्याउने लक्ष्यसहित।
टिजर अनि ट्रेलरसम्म पुग्दा फिल्मले दर्शकको ध्यान तानेको देखिन्छ। ओएसआर डिजिटलबाट दुई दिन अगाडि रिलिज भएको ट्रेलर दुई लाख पटक बढी हेरिइसकिएको छ।
प्रविधिको आधारमा निकै कमजोर भएको बेलामा पनि निर्देशक घिमिरेले बढो मिहेनतका साथ लडाइका दृश्यहरू समेट्न सफल भएका थिए।
अहिले त प्रविधिले जस्तोसुकै दृश्यको निर्माण पनि सहजै गर्न सकिने अवस्था छ। तै पनि ट्रेलरमै राखिएका भिज्योल इफेक्सका केही दृश्य नै आँखा बिझाउने खालको छ। विशेष उडिरहेको हेलिकप्टरको दृश्य।
ट्रेलरमा राखिएका संवादहरू हल्का रगत तताउन सफल देखिन्छन्। सत्य घटनामा आधारित दाबी गरिएको फिल्म फागुन ११ मा रिलिज हुँदैछ।
इतिहासप्रति गर्व हुनु स्वाभाविकै हो। त्यसमा पनि भाडाकै लागि लडेर होस् विश्वमाझ वीर गोर्खालीको बनेको इतिहास गर्व लायक छ।
हिजोआज नेपालीहरुलाई वीरताको चस्का खुबै लागेको छ। ट्रेलरमा आएका प्रतिक्रियाहरू हेर्ने हो भने दिमाग खराबपछि नेपाली फिल्म हेर्न हल नफर्किएका दर्शकहरूलाई गोर्खा वारियरले हलमा फर्काउन सक्छ।तर त्यसका लागि निर्माण टिमहरूले गरेको दाबी जस्तै फिल्म बलियो त हुनैपर्यो।
माघ १३, २०८० शनिबार १४:०३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।