पूर्वी पहाडमा हिमपात, पाथीभरा क्षेत्र सुनसान

पूर्वी पहाडमा हिमपात, पाथीभरा क्षेत्र सुनसान

इलाम : पूर्वी पहाडका जिल्लाका उच्च स्थानमा हिमपात भएको भएको छ। वर्षासँगै पहाडका उच्च हिमाली क्षेत्र तथा ताप्लेजुङको पाथीभरामा बाक्लो हिमपात भएको छ।

शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। हिमपातका कारण पाथिभरा क्षेत्र सुनसान छ।

पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए। शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ।

ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ। चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो।

यसैगरी तेह्रथुम, शंखुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले ९टीएमजे० क्षेत्रमा पनि हिमपात भएको छ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन्। यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ।

हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन्। मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन्।

त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ। जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अत्यधिक चिसो बढेको छ।

माघ १३, २०८० शनिबार १४:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।