प्रधानमन्त्री कपमा बागमतीको सबै खेल सकियो, दोस्रो स्थानमा कायमै
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ।
लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा पूरा गर्यो।
बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए।
लुम्बिनीका निर्मल गुरुङले दुई, कृष्ण कार्की र अभिषेक गौतमले एक/एक विकेट लिए।
त्यसअघि कीर्तिपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाएको थियो।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए भने विपिन आचार्यले दुई तथा प्रतिज जिसी र क्रिजन गुरुङले एक/एक विकेट लिए।
जितसँगै सबै ९ खेल खेलेर बागमतीले १२ अंक जोडेर दोस्रो स्थानमा छ। छ खेल खेलेको नेपाल पुलिस क्लबको पनि १२ अंक छ।६ खेलबाट २ अंक जोडेको लुम्बिनी नवौं स्थानमा रहेको छ।
प्रधानमन्त्री कपको पहिलो र दोस्रो टोलीबीच मात्र थप प्रतिस्पर्धा हुनेछ। बाँकी शीर्ष चार टोलीले एलिट कप खेल्नेछन्।
माघ १३, २०८० शनिबार १३:४८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।