सामसङले नेपालमा पनि सार्वजनिक गर्यो ‘ग्यालेक्सी एस२४’, यस्तो छ मूल्यसूची

सामसङले नेपालमा पनि सार्वजनिक गर्यो ‘ग्यालेक्सी एस२४’, यस्तो छ मूल्यसूची

काठमाडौं : नेपाली बजारमा सामसङले आफ्नो पछिल्लो फ्ल्यागशिफ स्मार्टफोन सिरिज ग्यालेक्सी एस२४ सार्वजनिक गरेको छ।

शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सामसङ नेपालले तीन मोडेलमा एस२४ सिरिज सार्वजनिक गरेको हो।

कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए।

​एस२४ सिरिज अन्तर्गत तीन मोडेल एस२४, एस२४ प्लस र एस२४ अल्ट्रा रहेका छन्। नेपाली बजारमा यो सिरिजका फोन विभिन्न चार भेरियन्टमा खरिद गर्न सकिनेछ।

कार्यक्रममा निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन हो। सामसङ ग्यालेक्सी एआइको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौँ।’

यस कार्यक्रमले मिडिया, कर्पोरेट र क्रीएटरहरूको क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

कम्पनीका अनुसार एस२४ अल्ट्रा दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसअन्तर्गत १२ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टाेरेज भेरियन्टकाे मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै एस२४ प्लस मोडेल अन्तर्गत ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ। यसको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस२४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ।

माघ १३, २०८० शनिबार ११:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।