यौन दुर्व्यवहारसँग जोडिएको मानहानी मुद्दामा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना

यौन दुर्व्यवहारसँग जोडिएको मानहानी मुद्दामा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना

एजेन्सी : एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारसँग जोडिएको मानहानी मुद्दामा ८ करोड ३३ लाख अमेरिकी डलर जरिवानाको फैसला सुनाएको छ।

लामो बहसपछि अदालतले शुक्रबार लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ट्रम्पलाई ८ करोड ३३ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो।

ट्रम्पमाथि उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप थियो।

ट्रम्पले क्यारोललाई भावनात्मक रूपमा चोट पुर्याएको र उनको प्रतिष्ठामा आँच पुर्याएको ठहर गर्दै अदालतले क्यारोललाई १ करोड ८३ लाख डलर क्षतिपुर्तिस्वरूप तिर्नुपर्ने फैसला गरेको हो। यसबाहेक ६.५० करोड डलर जरिवाना तिर्नुपर्नेछ।

फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै क्यारोलले भनिन्, ‘यो तिनीहरूको हार हो, जसले महिलालाई निच देखाएर अपमानित र होच्याउने काम गर्छ।’

ट्रम्पले भने यो फैसलालाई ‘विल्कुल हास्यास्पद’ भनेका छन्।

शुक्रबार सुनुवाइका क्रममा ट्रम्प अदालतमा उपस्थित भए पनि फैसला सुनाउँदा भने त्यहाँबाट गइसकेका थिए।

यसअघि सिभिल फ्रड मुद्दामा एक न्यायाधीशले क्यारोलमाथि यौन दुर्व्यवहार भएको प्रष्ट आधारहरू रहेको बताएका थिए।

तर, यो मुद्दा २०१९ मा क्यारोलको बारेमा ट्रम्पको टिप्पणीसँग सम्बन्धित थियो। ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका छन्।

माघ १३, २०८० शनिबार १०:१७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।