आईसीसी आचारसंहिता उल्लंघनमा दोषी ठहर भएपछि सुभाष भण्डारीलाई कारबाही

आईसीसी आचारसंहिता उल्लंघनमा दोषी ठहर भएपछि सुभाष भण्डारीलाई कारबाही

काठमाडौं : नेपालका अफ स्पिनर सुभाष भण्डारीलाई आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२४ मा आईसीसीको आचारसंहिताको लेभल १ उल्लंघन गरेको भन्दै कारबाही भएको छ।

आचारसंहिता उल्लंघन जनवरी २४ मा इस्टलण्डनको बफेलो पार्कमा नेपाल र पाकिस्तानबीचको समूह भिडन्तका क्रममा भएको आईसीसीले जनाएको छ।

उक्त खेलमा नेपालले पहिलो इनिङ्समा १९७ रन बनाएको थियो भने पाकिस्तानले ४८औं ओभरमा लक्ष्य पछ्याउँदै खेल पाँच विकेटले जितेको थियो।

पाकिस्तानको ब्याटिङ इनिङ्सको १४औं ओभरको अन्त्यमा भण्डारीले ब्याट्सम्यान शाहजाइब खानतर्फ अनुपयुक्त रूपमा बल फ्याँकेपछि उनको काँधमा लागेको थियो।

भण्डारीले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूको लागि आईसीसी आचारसंहिताको धारा २.९ को उल्लंघन गरेको आईसीसीले जनाएको छ।

जसमा अन्तर्राष्ट्रिय खेलको क्रममा अनुपयुक्त वा खतरनाक तरिकाले खेलाडीको नजिक वा टाढा बल फ्याँकेमा आचारसंहिता उल्लंघन हुने उल्लेख छ।

यससँगै भण्डारीको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक थपिएको छ। यो २४ महिनाको अवधिका लागि कायम हुनेछ। भण्डारीले गरेको यो पहिलो आईसीसी आचारसंहिता उल्लंघन हो।

मैदानका अम्पायर फिल गिलेस्पी र बोंगानी जेले, टिभी अम्पायर फोर्स्टर मुटिज्वा र चौथो अम्पायर केएन अनन्तपद्मनाभनले भण्डारीले आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका थिए।

भण्डारीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै आईसीसी म्याच रेफ्री ग्रीम ल्याब्रोयले प्रस्ताव गरेको सजायसमेत स्वीकार गरेपछि यसको औपचारिक सुनुवाइमा जानु नपरेको हो।

लेभल १ को उल्लंघनमा न्यूनतम जरिवाना आईसीसीको तर्फबाट सचेत गराउनु हो। खेलाडीको म्याचफिको ५० प्रतिशतसम्म पेनाल्टी काटिनु र एक वा दुई डिमेरिट अंक दिइनु अधिकतम जरिवाना हो।

खेलाडीले २४ महिनाको अवधिभित्र चार वा त्योभन्दा बढी डिमेरिट अंक पाए त्यो सन्सपेन्सन अंकमा परिणत हुनेछ अनि खेलाडीलाई प्रतिबन्ध लगाइने छ।

दुई सस्पेन्सन अंक पाएको खण्डमा एक टेस्ट वा दुई एकदिवसीय वा दुई टी२० बाट प्रतिबन्ध लाग्नेछ। खेलाडीको लागि जुन खेल पहिला आउँछ त्यहिमा यो कारबाही लागू हुनेछ।

डिमेरिट पोइन्टहरू २४ महिनाको अवधिका लागि रहन्छन्, त्यसपछि स्वतः हट्नेछ।

माघ १३, २०८० शनिबार ०८:०४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।