प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल पुग्यो सुपर सिक्समा
काठमाडौँ : आइसिसी यु-१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हराएर सुपर सिक्समा पुगेको छ।
एक सय ४६ को चुनौती पुरा गर्दै नेपालले अफगानिस्तानलाई हराएको हो। प्रतिस्पर्धा निकै रोचक भएको थियो। जितका लागि नेपाललाई दुई रन चाहिएको थियो अफगानिस्तानका लागि जित्न एक विकेट। अन्तमा नेपाली खेलाडीहरूले अफगानिस्तानले दिएको चुनौती पुरा गर्दै सुपर सिक्समा पुगे।
अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य मध्यम भए पनि नेपालका लागि सहज भने भएन। निकै संघर्षपूर्ण भयो। एक विकेट मात्र बाँकी रहँदा ४४.४ ओभरमा पुगेर नेपालले लक्ष्य पुरा गर्न सफल भयो। नेपालको जीतमा कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ निकै महत्त्वपूर्ण भयो। उनले ८९ बल खेल्दै ७ चौका हान्दै ५८ रन बनाएका थिए।
मध्यम लक्ष्य पच्छ्याएको नेपालको सुरुवात खराब भयो। शीर्ष तीन ब्याटरहरु सस्तै रनमा आउट भएका थिए। चौथो विकेटका लागि कप्तान देव खनाल र आकाश त्रिपाठी मिलेर ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाले।
२४ औँ ओभरमा आकाश ३९ बलमा १६ रन बनाएर आउट भए। दीपक डुम्रे ५ र दीपेश कँडेल ४ रन बनाएर आउट भए । दीपक बोहरा ४२ बलमा २७ रन बनाएर आउट भए। जितका लागि नेपाललाई ६ रन आवश्यक थियो। सुवास भण्डारी र तिलक भण्डारी आएर क्रिज सम्हालेका थिए। सुवास ९ रनमा र तिलक शून्यमा अविजित रहे।
टस हारेर पहिले बलिङ गरेको नेपालले तीव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङका कारण अफगानिस्तानलाई १४५ रनमै अल आउट भएको थियो। अफगानिस्तानले ४०.१ ओभरमा १ सय ४५ रन बनाएको थियो।
समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्ये हरेक टोलीबाट ३-३ टोली सुपर सिक्समा पुग्ने प्रावधान अनुसार नेपाल यो जितसँगै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।
माघ १२, २०८० शुक्रबार २०:२९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।