विमानस्थलमा अध्यागमन र प्रहरीको विवादबारे छानबिन गर्न समिति गठन

विमानस्थलमा अध्यागमन र प्रहरीको विवादबारे छानबिन गर्न समिति गठन

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय र प्रहरीबीचको विवादबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीलाई कुटेको भन्दै विवाद सुरु भएपछि मन्त्रालयले तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेका छन्।

शुक्रवार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जाँदा मेटल डिटेक्टर भएको स्थानमा चेकजाँचको क्रममा विवाद भएको थियो। उनले आफूमाथि कुटपिट भएको दाबी गरेका थिए। दिनभर विवाद भएपछि मन्त्रालयले छानबिनका लागि समिति नै गठन गरेको हो।

माघ १२, २०८० शुक्रबार १९:४५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।