गगनले भने'कांग्रेस सुशासन र उन्नतिको यात्रामा अझै धेरै पछाडि'

गगनले भने'कांग्रेस सुशासन र उन्नतिको यात्रामा अझै धेरै पछाडि'

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सुशासन र उन्नतिको यात्रामा अझै धेरै पछाडि रहेको बताए।

शुक्रवार नेपाली कांग्रेसको ७८ औँ स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उनले काङ्ग्रेसको धर्म भनेको देश र जनताको हितमा गर्नु रहेको बताउँदै काङ्ग्रेसले सङ्कल्प गर्ने समय आजै भएको बताएका थिए।

 काङ्ग्रेस पार्टी निर्वाचन लड्न, हार्न र जित्न मात्रै नबनेको भन्दै उनले काङ्ग्रेस पार्टी जनताका लागि स्थापना भएको बताएका थिए।

'देशमा निर्वाचन हुन्छ। त्यसैले निर्वाचन लड्ने, हार्ने र जित्ने कुरा काङ्ग्रेसको जीवनको एउटा सामान्य कुरा हो। एउटा पक्ष मात्रै हो। जसरी पानी, आगो, रुख, सूर्यको सबैको आफ्नो आफ्नो धर्म हुन्छ त्यसैगरी काङ्ग्रेसको धर्म भनेको देशको हित गर्नु र भुईँमा बसेका जनतालाई माथि उठाउनु हो’ उनले भने।

अबका दिनमा जिल्ला र केन्द्रमा नभई कांग्रेसको कार्यक्रम वडामा मात्रै हुने भन्दै उनले कार्यक्रममा पनि भाषण र औपचारिक नभई सामाजिक सेवाको कार्यक्रम हुने बताए।

‘भोलिबाट देशैभरि काङ्ग्रेसको समुदाय अभियान सुरु हुन्छ। सहिद दिवसको दिनमा ६ हजार ७ सय ४३ वटा वडामा मात्रै कार्यक्रम हुन्छ, जिल्ला र केन्द्रमा कुनै कार्यक्रम हुदैंन। तपाईँ जहाँको क्रियाशील सदस्य हुनुहुन्छ, त्यही वडामा पुग्नुपर्छ र त्यो दिन कुनै भाषण र औपचारिक कार्यक्रम हुदैंन। त्यो दिन सामाजिक सेवाको कार्यक्रम गर्छौ’ उनले भने।

माघ १२, २०८० शुक्रबार १७:१३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।