अफगानिस्तानले नेपाललाई दियो १४६ रनको मध्यम चुनौती
काठमाडौँ : आइसिसी यु-१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ।
नेपाली बलरहरूको घातक बलिङ अगाडि अफगानिस्तानले पुरै ओभर खेल्न पाएनन्। ४०.१ ओभरमा अफगानिस्तान अल आउट भयो।
अफगानिस्तानले १५ ओभरमै ६४ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो। आठ विकेट गुमाउँदा सय रन समेत जोड्न सकेको थिएन। सम्हालिँदै खेले पनि विकेट गुमाइसकेको अफगानिस्तानले पुरै ५० ओभर खेल्न सकेन।
नेपालका बलर आकाश चन्दले सर्वाधिक ५ विकेट लिएका थिए। दीपेश कँडेलले २ विकेट लिए भने गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक-एक विकेट लिएका थिए।
टस जितेको अफगानिस्तानले ब्याटिङ रोजेको थियो। यस अगाडि न्युजिल्याण्डसँगको प्रतिस्पर्धामा पनि अफगानिस्तानले मध्यम रन बनाएको थियो। तर न्युजिल्याण्डलाई अफगानिस्तानलाई हराउन हम्मे-हम्मे भएको थियो। न्युजिल्याण्डले रोमाञ्चक खेलमा एक विकेटले जितेको थियो।
नेपाल अनि अफगानिस्तान दुवैले अहिलेसम्म कुनै जित निकाल्न सकेका छैनन्। आजको प्रतियोगिता जसले जित्छ उ सुपर सिक्समा पुग्नेछ भने हार्ने टिम १३औ स्थानका लागि खेल्ने छ।
माघ १२, २०८० शुक्रबार १७:०२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।