नाटक टिप्पणी : 'मासिन्या' अर्थात् 'जाति नै मासिदिनू’ भनेर उर्दी पाएका जातिको संघर्षको कथा
शहरमा यतिबेला मञ्चन भइरहेका नाटकहरूमा एउटा पृथक कथा बिहीबारदेखि थापागाउँको मण्डला थिएटरको मञ्चमा मञ्चन भइरहेको छ, मासिन्या।
यो पृथक कथा मात्रै होइन, सदियौं लामो उत्पीडनको भुमरीमा गोलचक्कर लाउँदालाउँदै निकास खोज्न आफ्नो प्रतिरोधी चेतनामा धार लगाइरहेका 'मासिन्या' तामाङहरुको व्यथाको काइरान पनि हो।
'मासिन्या' कुनै व्याक्तीवाचक नाम होइन, यो यस्तो जातिवाचक नाम हो जसले उत्पीडित समुदायहरूको कहर अर्थ्याउँछ। मासिन्या अर्थात् मुलुकी ऐन १९१० ले परिभाषित गरेको 'जाति नै मासिदिनु’ भनेर उर्दी जारी गरिएका जातिहरू हुन्।
राजु स्याङ्तान, लक्ष्मी रुम्बा र रावतद्वारा लिखित, बुद्धि तामाङ/सोनाम लामा निर्देशित नाटकले यतिबेला उनै उत्पीडितहरूको व्यथाको काइरान खोतलिरहेको छ, जहाँ तामाङहरु आफ्नै भूमिबाट विस्थापित गराइएका छन्, जहाँ उनीहरूको जीवनको मूल्य एउटा जनावरको नाममा खोसिएको छ।
नाटकको सुरुवात 'बोम्बो' (झाँक्री) ले जोखाना हेरिरहेको दृश्यबाट हुन्छ जहाँ मुख्य पात्र साङ्कमोको भदैनी, विक्षिप्त मानसिक अवस्थामा छिन्। झाँक्रीले उसलाई पितृ खुसी नभएको र पितृको 'आत्मा' सरेको भन्छ। यो दृश्य हेर्दा साधारण लागे पनि यसले 'उत्पीडन पुस्तान्तरण' लाई बिम्बात्मक रूपमा बलियोसँग सम्प्रेषण गरेको छ।
यसरी सुरु हुने कथा एउटा डाँडागाउँको तामाङ बस्ती छिर्छ। त्यहाँ च्याङ्बा छ। जसरी पनि अकालमै ज्यान गुमाएका बा-आमाको नाममा छोर्तेन बनाइसक्ने उसको सपना छ। त्यो छोर्तेन च्याङ्बाको आत्मसम्मान हो, पहिचान हो। उसका पुर्खाहरू हुनुको, उनीहरूको अस्तित्व दाबी गरिरहने दस्ताबेज हो। छोर्तेन बनाउने च्याङबाको सपना पूरा होला? नाटकको कथा यसैको वरिपरि घुमेको छ।
'मासिन्या' उत्पीडित च्याङ्बा र साङ्मोहरुको साझा कथा हो, निर्दोषहरू राज्यसत्ताको आँखाको तारो बनाइएको कथा हो अनि थेप्चे नाक र चिम्से आँखालाई तगारो मानेर राजनीतिक जालझेलमा उल्झाउनेहरूको कथा हो।
नेपाल भाषिक, सांस्कृतिक र भौगोलिक विविधताको देश हो भन्ने रटान लगाएर कहिल्यै नथाक्ने नेपाली समाजले व्यवहारगत कति समतामूलक अभ्यास गरिरहेको छ? वाद र अभ्यासबीचको यही फरकलाई 'रियालिटी चेक' गर्ने माध्यम बनेको छ 'मासिन्या'।
आदिवासी/जनजातिले आफ्नो सदियौं पुरानो पहिचान,संस्कार-संस्कृति र आफ्नो सभ्यता दाबी गरेकै कारण ज्यादती गर्ने 'धर्म निरपेक्ष' (?) राज्यको नश्लिय मुखौटा मजाले देखाउँछ यो नाटकले।
सामाजिक सद्भाव र भाइचाराका नाममा जातीय दमन/विभेद लुकाउने कुचेष्टा गरिरहेको समाजले आज पनि उत्पीडितहरूले आफ्नो अधिकार दाबी गर्दा एकाएक 'जातिवादी'को ट्याग भिराइदिन्छ। उनीहरूलाई असभ्य, जङ्गली र भेडो प्रवृत्तिको भन्ने भाष्य निर्माण गर्छ। भित्र कतै जरा गाडेर बसेको 'महेन्द्रमाला र मनुस्मृति' एकाएक जुरमुराउँछन् त्यो बेलामा। उत्पीडितका सङ्गठित आवाजले उत्पीडक जाती/वर्गमा असुरक्षा र चुनौतीको भाव जन्माउँछ।
किन?
किनभने, हामी गाउँछौँ,
"बहुलजाती, भाषा, धर्म, संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो,
जय जय नेपाल !"
तर,
अभ्यास गर्छौं आफ्नो एकल भाषाको वर्चस्वको! वकालत गर्छौ आफ्नो धर्म र धार्मिक सर्वोच्चताको ! आफ्नो मात्रै संस्कार र संस्कृतिको स्तुति र महिमागान गाउँछौ!
'मासिन्या' यही प्रगतिशीलताको ढोंग विरुद्धको विद्रोही बिगुल पनि हो।
आदिवासी/जनजातिहरूको उदारता, निष्कपट व्यवहार, प्रेमिल आतिथ्यता र हार्दिकताको बयान गरेर नथाक्ने तर उनीहरूको सामाजिक/राजनीतिक अधिकार कुण्ठित गर्न अग्रपङ्क्तिमा उभिएर षड्यन्त्र गर्नेहरूलाई औँला ठड्याउने, प्रश्न तेर्स्याउने सचेत प्रयत्न पनि हो 'मासिन्या'।
विविधतापूर्ण अस्तित्वलाई अस्वीकार गरेर, समतामूलक र सामाजिक न्यायपूर्ण समाज/राष्ट्रको वकालत गर्ने र एउटा मात्रै रङ्ग भित्तामा पोतेर इन्द्रेणीको ढोँग गर्नेहरूलाई सृजनात्मक व्यङ्ग्य हो यो नाटक।
सरल र सामूहिक भावसहित जीवन बाँचिरहेका च्याङ्बा र साङ्ग्मोहरुको जीवनको लय कसले भत्कायो? उनीहरूको जल, जमिन, जङ्गल र बस्ती कसले खोस्यो? खोसिरहेछ? अनेकन् प्रश्नहरूको उत्तर भेटिन्छ यो नाटकमा।
मूलतः मुलुकी ऐनले ठप्पा लगाइदिएको 'मासिन्या'हरुको राजनीतिक काइरान वरपर घुम्ने नाटकको कथावस्तुले तामाङ जनजाति समुदायमा महिलाहरूको स्थान कहाँनेर छ भन्ने समेत चित्रण गरेको छ।
महिला भनेका लोग्नेको चरणदास मात्रै हुन्,उनीहरू पुरुषको नियन्त्रणमा बाँच्ने परजीवी हुन्,उनीहरू पुरुष भन्दा कमजोर धरातलकै हुनुपर्छ, पोथी बास्नु हुँदैन भनेर सदियौं महिलाहरूलाई प्रशिक्षित गरिरहेको पितृसत्तात्मक सामाजिक अभ्यासमा तामाङ महिलाहरूले अभ्यास गरिरहेको नेतृत्वदायी भूमिका र आत्मनिर्णयको अधिकार कस्तो थियो/छ बुझ्न 'मासिन्या' हेर्पनैर्छ।
तपाईँ-हामीले ध्वाँस दिइरहेको उन्नत लोकतन्त्रमा पनि कसरी कुनै एउटा समुदायलाई शताब्दीऔं लामो उत्पीडनको खिल बल्झेर दुखाइरहेको छ भन्ने बुझ्न 'मासिन्या' ले सहयोग गर्न सक्छ।
उत्पीडनको दलनमा पर्नेहरूको मानसिक स्वास्थ्य अत्यन्तै नाजुक हुन्छ। नाटकले अप्रत्यक्ष रूपमै सही सामाजिक न्याय र मानसिक स्वास्थ्यको जटिल सम्बन्ध समेत प्रस्तुत गरेको छ।
माघ १२, २०८० शुक्रबार १५:३२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।