थुनुवा भगाएर १६ वर्षदेखि फरार प्रहरी जवान कोलकत्तामा नौवटा ट्याक्सीको मालिक, झापा आउँदा पक्राउ

थुनुवा भगाएर १६ वर्षदेखि फरार प्रहरी जवान कोलकत्तामा नौवटा ट्याक्सीको मालिक, झापा आउँदा पक्राउ

काठमाडौं : इन्स्पेक्टरको कीर्ते हस्ताक्षर गरी थुनुवा भगाएको आरोपमा १६ वर्षपछि नेपाल प्रहरीका जवान पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको पथराबुधराम-३ घर भई हाल भारतको कोलकत्ता बस्दै आएका ४१ वर्षीय विरवल राय यादव रहेका छन्। उनलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

यादवले २०६४ जेठ ९ गते लागुऔषधि खैरो हिरोइनसहित पक्राउ परेर मुद्दाको क्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका भारतीय नागरिक असरफ आलमलाई भगाएको प्रहरीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यादव सो समयमा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासत कक्षमा प्रहरी जवानको रुपमा कार्यरत थिए।

यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृत (इन्स्पेक्टर)को किर्ते दस्तखत समेत गरी ‘इन्सपेक्टर साबले बोलाउनुभएको छ’ भनि हिरासत कक्षबाट हतकडीसमेत लगाई बाहिर निकाली भगाएपछि उनी पनि फरार भएको प्रहरीको भनाइ छ।

यादवले तत्कालीन समयमा आलमलाई छुटाउनको लागि एक करोड रूपैयाँबाट डिल सुरू गरेको र १० लाखमा कुरा मिलेर ६ लाख २५ हजार रुपैयाँ मात्र पाएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीसँगको बयानका क्रममा यादवले आफूले आलमलाई हिरासतबाट निकालेपछि कालिमाटी-कलंकी-बुटवल हुँदै भारत छिराएको बताएको प्रहरीले जनाएको छ।

आलमलाई छुटाएबापत पाएको छ लाख ५० हजार रुपैयाँले यादवले भारतको कोलकत्तामा दुई वटा ट्याक्सी खरिद गरी चलाउँदै आएकोमा हाल नौ वटा ट्याक्सी रहेको छ।

अहिले उनीसँग भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्ससमेत बनाइसकेको अनुसन्धानमा खुलेको छ।

यादवलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल भारत सिमानाको काकडभिट्टाबाट माघ ११ गते पक्राउ गरी कारबाहीको लागि १२ गते जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताए।

उनका अनुसार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसारको कसुरको सजाय हुनेछ।

माघ १२, २०८० शुक्रबार १२:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।