एएफसी एसियन कपको अन्तिम १६ टुंगियो
काठमाडौं : कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि–क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ।
बिहीबार राति समूह ‘एफ’का खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो।
समूह ‘एफ’को अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक–एक गोलको बराबरी खेल्दा साउदी अरेबिया र थाइल्याण्डले पनि गोलरहित बराबरी खेले।
साउदी अरेबिया शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा थाइल्याण्ड दोस्रो स्थानका साथ नकआउट चरणमा प्रवेश गर्न सफल भयो।
समूह ‘ए’बाट कतार र ताजकिस्तान अन्तिम १६मा प्रवेश गर्दा समूह बीबाट अस्ट्रेलिया र उज्वेकिस्तान प्रवेश गरे।
यसैगरी समूह ‘सी’बाट इरान र युएई पुग्दा समूह ‘डी’बाट इराक र जापानले स्थान सुरक्षित गरे। समूह ‘ई’बाट बहराइन र दक्षिण कोरियाले अन्तिम १६ मा प्रवेश पाउँदा समूह ‘एफ’बाट साउदी अरेविया र थाइल्याण्डले स्थान पक्का गरे।
यसैगरी उत्कृष्ट तेस्रो हुँदै समूह ‘बी’बाट सिरिया, समूह ‘सी’बाट प्यालेस्टाइन, समूह ‘डी’बाट इन्डोनेशिया र समूह ‘ई’बाट जोर्डनले पनि नकआउट चरणमा स्थान पक्का गर्न सफल भए।
नकआउट चरणमा अस्ट्रेलिया र इन्डोनेशिया आमने सामने हुँदा ताजकिस्तानले युएईसँग खेल्ने छ। यो खेल आइतबार हुनेछ।
यसैगरी सोमबार इराक र जोर्डन तथा कतार र प्यालेस्टाइनको खेल हुनेछ। यस्तै, मंगलबार उज्वेकिस्तान थाइल्याण्ड तथा साउदी अरेविया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ।
प्रि क्वाटरफाइनल अन्तर्गत बुधबार अन्तिम दुई खेलमा बहराइन र जापान तथा इरान र सिरिया आमने सामने हुनेछन्।
माघ १२, २०८० शुक्रबार १०:१४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।