काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री, दिउँसो हल्का वर्षाको सम्भावना

काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री, दिउँसो हल्का वर्षाको सम्भावना

काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ।बाँकी भागमा मौसम सामान्यतया सफा छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

शुक्रबार विहान काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। यद्यपि यो पौने ९ बजेसम्म अझै घट्नसक्ने उनले बताए।

‘विहान पौने ६ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ, त्यसपछि भने ४ डिग्रीमा चलिरहेको छ,’ उनले भने, ‘यो पौने ९ बजेसम्म पुनः घट्न पनि सक्छ।’

यसअघि बिहीबार काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको थियो। यो नै अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो।

राति पहाडी भूभागमा आंशिकदेखि  साधारणतया मौसम बदली रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १२, २०८० शुक्रबार ०७:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।