एमाले राष्ट्रिय सभामा ६ वर्षपछि तेस्रोमा पुग्यो, माओवादी पहिलो , कांग्रेस दोस्रो

काठमाडौँ : बिहीबारको निर्वाचनसँगै राष्ट्रिय सभाभित्र दलीय समीकरण बदलिँदै माओवादी केन्द्र पहिलो दल बनेको छ। एमाले ६ वर्षदेखि पहिलो दल रहेकोमा तेस्रोमा पुगेको छ।
राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएपछि पहिलो दल भएको हो।
राष्ट्रिय सभामा माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना सदस्य छन्। ३ जना सदस्य फागुन २० बाट बिदा हुनेछन्। बिहीबार थप ५ जना सदस्य निर्वाचित भएसँगै राष्ट्रिय सभामा माओवादी केन्द्रको सदस्यको सङ्ख्या १७ पुगेको छ।
बिहीबार कांग्रेसका १० जना सदस्य निर्वाचित भएका छन्। यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए। जसमा ४ जना फागुन २० गते बिदा हुनेछन्। बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल बन्यो।
एमाले लगातार ६ वर्षदेखि राष्ट्रियसभाको पहिलो दल रहेकोमा तेस्रोमा पुगेको छ। २०७४ माघ २४ को निर्वाचनबाट एमाले पहिलो दल बनेको थियो।
राष्ट्रिय सभामा एमालेका १७ जना सांसद थिए। ८ जना सदस्य बिदा हुँदैछन्। राप्रपासँगको तालमेलमा बिहीबार एक सदस्य थपिए। राष्ट्रिय सभामा अब एमालेको १० जना सदस्य भएका छन्।
बिहीबार एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना सदस्य निर्वाचित भए। अब राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी (जसपा) का ३ संसद् छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १-१ सिट छ। राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट रिक्त छ।
माघ ११, २०८० बिहीबार २२:३५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।