मधेस प्रदेशको साइकलमा भ्रष्टाचार पुष्टि, प्रदेश सचिव भुसाल र इन्जिनियर झा दोषी ठहर

मधेस प्रदेशको साइकलमा भ्रष्टाचार पुष्टि, प्रदेश सचिव भुसाल र इन्जिनियर झा दोषी ठहर

काठमाडौँ : विशेष अदालतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत मधेस प्रदेश सरकारको किनेको साइकलमा भ्रष्टाचार भएको ठहर गरेको छ।

बिहीबार अदालतले खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान् झालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई झालाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा ८ (१) (ञ) बमोजिमको कसुरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोक्यो।

भुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव हुन् भने झा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरका प्रमुख हुन्। यसैगरी, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, रेनु अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।

सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओम सत्य साई प्रालि वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले भने सफाइ पाए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदबारे छानबिन गर्दै ब्रान्ड नखुलेका कमसल लेडिज साइकल किनेर १० करोड ३३ लाख नोक्सान पुर्याएको भन्दै गत साउन १८ मा मुद्दा दर्ता गरेको थियो।

मधेस सरकारले दुई चरणमा साइकल किनेर सामुदायिक विद्यालयका छात्राहरूलाई बाँडेको थियो। पहिलो चरणमा १४ हजार र दोस्रो चरणमा १९ हजार साइकल किनेर बाँडिएको थियो।

खरिदमा मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत समेत जोडिएका थिए। तर अख्तियारले मुद्दा दायर गर्दा उनी प्रतिवादी बनेनन्।

११ माघ, २०८०, २१:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।