अर्थतन्त्रको ४२ प्रतिशत हिस्सा अनौपचारिक, घरजग्गा र कृषिमा उच्च
काठमाडौँ : देशको अर्थतन्त्रको करिब ४२ प्रतिशत हिस्सा अनौपचारिक रहेको नयाँ अध्ययनले देखाएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोण प्रयोग गरेर नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा समेटिएको अध्ययन प्रतिवेदनमा ४२ प्रतिशत हिस्सा अनौपचारिक रहेको देखाएको हो।
देशको औपचारिक अर्थतन्त्रको गणनामा नआउने वस्तु र सेवाको उत्पादन तथा उपभोग ठुलो रहेको देखाएको हो। अनौपचारिक अर्थतन्त्रको आकार ४० देखि ४२ प्रतिशतसम्म रहेको देखाएको छ।
राष्ट्रिय लेखाविधि अनुसार आर्थिक वर्ष सन् २०१०/११ देखि सन् २०२०/२१ सम्मको तथ्याङ्कमा आधारित भएर दुई खाले दृष्टिकोणबाट विश्लेषण गरिएको छ।
राष्ट्रिय लेखाको दृष्टिकोणबाट गरिएको विश्लेषणले यो अवधिमा अर्थतन्त्र सरदरमा ४२.६६ प्रतिशत अनौपचारिक रहेको देखाएको छ। त्यसैगरी, मुद्राको माग सम्बन्धी दृष्टिकोणबाट गरिएको विश्लेषणले एक दशकमा अर्थतन्त्र सरदरमा ४०.०६ प्रतिशत अनौपचारिक रहेको देखाएको छ।
यद्यपि, राष्ट्रिय लेखाको दृष्टिकोणबाट गरिएका विश्लेषणले सन् २०१०/११ को तुलनामा पछिल्ला वर्षमा अनौपचारिक अर्थतन्त्रको आकार घटिरहेको देखाएको छ। राष्ट्रिय लेखाको आधारमा गरिएको विश्लेषण अनुसार सन् २०१०/११ मा अनौपचारिक अर्थतन्त्रको आकार ४९.१ प्रतिशत थियो। यो सन् २०२०/२१ मा आइपुग्दा ३८.६ प्रतिशतमा झरेको छ।
सबैभन्दा धेरै घरजग्गा कारोबार र कृषिका क्षेत्रमा अनौपचारिक अर्थतन्त्र उच्च रहेको अध्ययनको निष्कर्ष छ। घरजग्गा क्षेत्रमा ९९.९७ प्रतिशत र कृषिमा ९६.४८ प्रतिशत अनौपचारिक छ। होटेल तथा रेस्टुराँमा ५०.४२ प्रतिशत अनौपचारिक छ।
माघ ११, २०८० बिहीबार २०:३७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।