छात्रालाई बाँड्न किनिएको प्याडमा पनि भ्रष्टाचार

छात्रालाई बाँड्न किनिएको प्याडमा पनि भ्रष्टाचार

काठमाडौँ : सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क वितरण गर्न किनिएको प्याडमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, रुपनी गाउँपालिका, गाउँ कार्यपालिकाका पदाधिकारीहरूसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद्यालयका छात्राहरूका लागि निःशुल्क वितरण गर्न भन्दै गाउँपालिकाले १७ लाख ८५ हजार रुपैयाँको स्यानिटरी प्याड किनेको थियो। अभियोग पत्रमा सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रचलित दरभाउलाई आधार मानेर लागत अनुमान तयार नगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी लगायतले श्री लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीसँग मिलेमतो गरेर ९ लाख ११ हजार रुपैयाँ पर्ने स्यानिटरी प्याड १७ लाख २५ हजारमा किनेर भ्रष्टाचार गरेको दाबी गरिएको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग गरेको छ।

अभियोगपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीलाई समेत मुख्य कसुरदारहरूलाई सरह सजाय गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको छ।

११ माघ, २०८०, १९:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।