भ्रष्टाचारको जोडी : एकै पटक निलम्बन, एकै पटक पक्राउ

भ्रष्टाचारको जोडी : एकै पटक निलम्बन, एकै पटक पक्राउ

अकुत सम्पत्तीको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन विशेष अदालतले अनुमति दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुबैलाई बुधवार पक्राउ गरेको थियो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार उनीहरूलाई न्यायिक थुनामा राखेर अनुसन्धान गर्न अख्तियारलाई अनुमति दिएको हो।

यी दुबै विरुद्ध विशेष अदालतमै नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला गरेको अभियोग पत्र दायर भएपछि सुनिल नेपाल टेलिकमको प्रबन्ध–निर्देशकमा निलम्बनमा परेका थिए भने विकल सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक पदबाट निलम्बनमा परेका थिए।

उनीहरू देश बाहिर बस्दै आएका थिए। दुबै जना नेपाल आएको सूचनाको आधारमा बुधवार अख्तियारको टोलीले सुनिललाई शान्तिनगर र विकललाई मण्डिखाटारबाट पक्राउ गरेको थियो। विकल सुरक्षित मुद्रण सामाग्री खरिदमा समेत जोडिँदै आएका पात्र हुन्।

राजनीतिक संरक्षणमा यी दुवै मिलेर सरकारी कोषमा भ्रष्टाचार गर्दै आएका थिए।  विकल तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरका  रूपमा करारमा प्रवेश गरेर पछि त्यहीको उप कार्यकारी निर्देशक भएका थिए। उनी सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक बनेपछि सुनिललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बनाए।

विकल २०७९ जेठमा दोस्रो पटक सुरक्षा मुद्रणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि २०७८ मा सुनिल नेपाल टेलिकमको प्रबन्ध–निर्देशक भएका थिए। टेलिकममा ८० अर्बको खरिदको तयारीसँगै मिलेमतोमा ठेक्का आफू निकटलाई दिलाउन सुनिललाई विकलले नै राजनीतिक मिलेमतोमा टेलिकम पुर्याएका थिए।  अन्तमा अख्तियारले यी दुबैलाई एकै पटक भ्रष्टाचारको प्रतिवादी बनायो। दुवै एकै पटक निलम्बित भए। अनि एकै पटक पक्राउ पनि परे।

११ माघ, २०८०, १९:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।