कोशीमा एमालेको ‘ढोक्सा’मा जीत पर्दा राप्रपा रित्तै, ६ प्रदेशमा गठबन्धनका उम्मेदवारको जित

कोशीमा एमालेको ‘ढोक्सा’मा जीत पर्दा राप्रपा रित्तै, ६ प्रदेशमा गठबन्धनका उम्मेदवारको जित

काठमाडौँ :  कोशी प्रदेशमा सत्ता गठबन्धनबिच फ्लोरक्रसहुँदा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन्। राप्रपाको समर्थनमा एमालेबाट कोइराला र राप्रपाबाट उद्धव पौडेल उम्मेदवार बनेका थिए। कृष्ण सिटौलालाई पराजित गर्न एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका नेता पौडेल भने पराजित भए।

सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीको मत क्रसहुँदा कार्की करिब एक सय मतभारले  पराजित भएकी थिइन्।कोइरालाले ५ हजार ८६ मतभार पाएर निर्वाचितहुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन पाएकी कार्कीले ४ हजार ९ सय ९२ मतभार पाएकी थिइन्।

अन्य कोटामा गठबन्धनबाट उम्मेदवार कांग्रेसका कृष्ण सिटौला विजयी भए। उनलाई आउने केही मत पौडेललाई गएको थियो। तर त्यो जितका लागि पर्याप्त भएन। 

मधेस प्रदेशमा गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी विजयी भए। अन्य कोटाबाट उम्मेदवार बनेका  ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाउँदा महिला कोटातर्फकी गठबन्धनकी उम्मेदवार चौधरीले ७ हजार ९ सय २३ मतभार पाएकी थिइन्। लुम्बिनी प्रदेशबाट महिला कोटामा नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा २ हजार ७ सय ५६ मत ल्याएर विजयी भइन्। अन्य कोटाबाट माओवादी केन्द्रका झक्कु सुवेदी २ हजार सात सय ५६ मत पाएर विजयी भए।

गण्डकीको ३ सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए। कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन्।

वाग्मती प्रदेशको चार वटै सिटमा  सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए। महिलातर्फ नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा जीतजंग बस्नेत, अपाङ्गतर्फ माओवादी केन्द्रको श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ समाजवादीबाट घनश्याम रिजाल विजयी भए।

कर्णालीमा महिला समूहतर्फ सावित्री मल्ल, दलित समूहतर्फ विष्णु विक र अन्य समूहतर्फ कृष्णबहादुर रोकाय विजयी भए। यी तीनै जना सत्ता गठबन्धनका उम्मेदवार हुन्।

सुदूरपश्चिममा महिलातर्फ माओवादीकी रेणु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए।

माघ ११, २०८० बिहीबार १८:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।