मनाङको तापक्रम माइनस २२ डिग्री, जाडो छल्न स्थानीय अन्य जिल्लामा

मनाङको तापक्रम माइनस २२ डिग्री, जाडो छल्न स्थानीय अन्य जिल्लामा

काठमाडौं : पछिल्लो केही दिनयता निरन्तर घट्दै गएको मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ।

दिउँसोको समयमा नै त्यहाँको तापक्रम माइनस १२ पुग्छ। हिमाली जिल्ला मनाङमा हिमपात कम भए पनि चिसो अत्यधिक बढेको हो।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि त्यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए। जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनको भनाइ छ।

प्रजिअ लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ। खोलानालामा पूर्ण रूपमा पानी जमेको छ। हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन। सवारीसाधनको आवतजावत न्यून छ। पिउने पानी जोहो गर्नै मुस्किल छ।’

चिसो बढ्दै जाँदा त्यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएका छन्। लामिछानेले अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको बताए।

पहिलो हिमपात हुनासाथ त्यहाँका शैक्षिक संस्था बन्द भएका छन्।

शैक्षिक संस्था बन्द भएपछि त्यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका हुन्। त्यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरा लगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

माघ ११, २०८० बिहीबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।