तहसिलदारले अदालतकै क्वार्टरभित्र बलात्कारको प्रयास गरेको आरोप

तहसिलदारले अदालतकै क्वार्टरभित्र बलात्कारको प्रयास गरेको आरोप
प्रतिकात्मक तस्बिर

काठमाडौं : दाङ जिल्ला अदालत घोराहीमा कार्यरत तहसिलदार (प्रमुख भई काम गर्ने न्यायाधीशको सामान्य निर्देशन तथा नियन्त्रणमा रही फैसला कार्यान्वयनसम्बन्धी एवं प्रचलित कानुनमा तहसिलदारले गर्ने भनिएका काम गर्न तोकिएको कर्मचारी, सो शब्दले फैसला कार्यान्वयन अधिकारीलाई समेत जनाउँछ) निरन्जन बाबु पाण्डेले अदालतकी सेवाग्राही महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

घोराही १७ मा डेरा गरि बस्ने पीडित महिलाले सामाजिक सञ्जालमा पाण्डेले बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन्।

जिल्ला अदालतको क्वार्टरभित्र लगेर मुद्दामा मेलमिलाप गराइदिने भनेर आफूलाई बलात्कारको प्रयास गरेको आरोपसहितको भिडियो 'सक्षम युवा' नामको फेसबुक आईडीबाट पोष्ट भएको छ।

अदालतमा ती महिलाको अंश मुद्दामा फैसला भई कार्यान्वयनको चरणमा थियो। अंश मुद्दाको फैसला कार्यान्वयन गर्दैगर्दा ती महिलाले जग्गा बाडफाडको क्रममा श्रीमानको महङ्गाे जग्गा आफूलाई पार्नका लागि फेसबुकको म्यासेन्जरबाट दबाब दिने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले पाण्डेले आफ्नो चरित्र हत्या गरेको भन्दै महिला विरुद्ध साइबर अपराधमा मुद्दा दिएको बताए। उनले आपराधिक लाभमा पनि मुद्दा आउने तयारी भएको बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

आरोप लागेका पाण्डेले अदालतको सेवाग्राहीमाथि आफूले केही नगरेको र चरित्र हत्या गर्न खोजेको प्रहरीलाई भनेको मुद्दा फाटका एक प्रहरी अधिकारीले बताए।

 

 

माघ ११, २०८० बिहीबार १३:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।