‘कमेडी च्याम्पियन’को कार्यक्रममा दुई निर्णायक र होस्ट नै अनुपस्थित, केकीलाई हिसाबकिताबमा मात्र भेटिने

‘कमेडी च्याम्पियन’को कार्यक्रममा दुई निर्णायक र होस्ट नै अनुपस्थित, केकीलाई हिसाबकिताबमा मात्र भेटिने

काठमाडौं : नेपालकै पहिलो हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३’ को प्रसारणको बारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरियो।

दरबारमार्गस्थित फाइभ स्टार होटलमा दिउँसो १ बजे पत्रकारहरूलाई बोलाइएको थियो। पत्रकार र युट्युबर एक बजेदेखि नै भेला हुन थालिसकेका थिए। तर हामी नेपाली भएपछि ‘नेपाली टाइम’लाई पछ्याउनैपर्यो। कार्यक्रम झण्डै दुई बजेतिर मात्र सुरु भयो।

रियालिटी शोका निर्देशक विशाल भण्डारी एक बजे अगावै कार्यक्रमस्थलमा उपस्थित भइसकेका थिए। त्यसैबीच निर्णायक मण्डलका जज सन्तोष पन्त उपस्थित भए। कार्यक्रममा टेलिभिजन र प्रायोजकहरूबाहेक सबैले चिन्ने मानिस कमैमात्र उपस्थित थिए। माहोल खासै जम्न सकेन।

दुई बजेतिर शोका अर्का निर्णायक प्रदीप भट्टराई उपस्थित भए। उनी कार्यक्रममा उपस्थित भएपछि युटुबर तथा पत्रकार अलिक चनाखो बने। तर, पत्रकारको आँखा भने ढोकाबाहिर नै थिए।

उनीहरू निर्णायकद्वय ऋचा शर्मा र मनोज गजुरेल तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा र मेक्सम गौडेल अनि निर्माता केकी अधिकारीलाई खोजिरहेका थिए।

उनीहरूको बाटो कुरिरहेका पत्रकार तथा युट्युबर अन्ततः निर्देशक विशाल भण्डारी र टेलिभिजनका सुरज सिंह ठकुरीसँग गन्थनमन्थन गरेको कन्टेन्ट बनाएर निराश हुँदै फर्किए।

दुई जना मात्रै जज देखेपछि कार्यक्रम प्रस्तोताले खुशी हुँदै ‘दुई जना भएपनि उपस्थित हुनुहुन्छ’ भन्दै बोले। किनभने उनी पनि अरु जज नहुँदा निराश बनेको देखिन्थेँ।

शोका निर्देशक विशाल भण्डारीले होस्ट रिमा र मेक्सम कार्यक्रममा व्यस्त भएकाले आउन नसकेको जानकारी दिए। केकी हिसाबकिताबमा मात्रै भेट हुने उनको तर्क थियो।

रियालिटी शो आगामी फागुन ३ गतेबाट बिहीबार र शुक्रबार साँझ ९ बजे कान्तिपुरबाट प्रसारण हुनेछ। निर्देशक भणडरीका अनुसार अडिसनबाट ३० जना प्रतिस्पर्धी छानिएका छन्। कुल ३३ एपिसोडको यो शो कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ।

विजेताले २५ लाख नगद र २५ लाख बराबरको गाडी उपहार पाउनेछन्। जसको कर काटिनेछ।

यो रियालिटी शोको पहिलो सिजन हिमेश पन्तले जित्दा दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए। शोलाई विशालकै थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो।

माघ ११, २०८० बिहीबार १०:००:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।