भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्यालाई निष्कर्षमा पुर्याउन सांसद विश्वकर्माको आग्रह

भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्यालाई निष्कर्षमा पुर्याउन सांसद विश्वकर्माको आग्रह

काठमाडौं : रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्यालाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्।

राष्ट्रिय समाचार समितिसँगको अन्तरक्रिया कार्यक्रममा सांसद विश्वकर्माले यस्तो बताएका हुन्।

उनी भन्छन्, ‘व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन्। सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन्। बरु उनीहरूलाई नयाँ जमिन किन्दा सहज हुने देखिएको छ। भूमिहीन, अव्यवस्थित बसोबासी र दलित समुदायका समस्यालाई सधैँ बोक्ने होइन, यसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ।’

एमालेको सचिव समेत रहेका उनले संविधानको परिकल्पना अनुसार देश अगाडि नबढेको तर्क गरेका छन्।

उनले भने, ‘अहिले हामी नेपालको संविधानले सुनिश्चित गरेको संसदीय अभ्यासमा छौँ तर संविधानको मर्मअनुसार सतप्रतिशत अभ्यासमा अघि बढेका छौँ भन्ने मेरो दाबी छैन। संविधान कार्यान्वयनका मामलामा पर्याप्त ध्यान दिनुपर्ने स्थिति छ। अभ्यासमा जाँदा स्वाभाविक रूपमा दलका दृष्टिकोणहरू, मान्यताहरू प्रतिबिम्बित हुन्छन्। राजनीतिक दलबीच समझदारी बनाएर अघि बढ्नुपर्ने अवस्था छ।’

उनले संसदले प्राप्त गर्ने बिजनेसलाई ठीक ढङ्गले निरुपण गर्ने मामलामा अनुकूल परिस्थिति निर्माण भएन भने संसदको काम प्रभावित हुने तर्क समेत गरेका छन्।

माघ १०, २०८० बुधबार १२:१७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।